दैनिक ज्यालादारी गरेर गुजारा चलाउनेलाई सरकारको राहत प्याकेज

काठमाडौं- सरकारले दैनिक ज्यालादारी काम गरेर गुजरा चलाउने तथा गरीव विपन्नहरुलाई राहत प्याकेज घोषणा गर्ने भएको छ । स्थानीय तहबाट त्यस्ता व्यक्तिहरुको विवरण संकलन गरिने विषयमा आइतबार मन्त्रिपरिषद बैठकले प्याकेज घोषणा गर्न लागेको हो ।

कोभिड १९ विरुद्ध रोकथाम तथा नियन्त्रण उपसमितिका संयोजक समेत रहेका उपप्रधानमत्री ईश्वर पोखरेल र अर्थमन्त्री डा।युवराज खतिवडाले शनिबार यसै विषयमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेका छन् ।

राष्ट्रपति भण्डारीले दुवै मन्त्रीसँग यसबीचमा सरकारले गरेका काम र अबका योजनाबारे जिज्ञासा राखेको बताइएको छ । मन्त्रिपरिषद बैठकबाट गर्नुपर्ने निर्णयका सन्दर्भमा प्रधानमन्त्रीसँग पनि छलफल भएको पोखरेल निकट स्रोतले जनाएको छ । वडास्तरबाट त्यस्ता अति आवश्यकहरुको विवरण संकलन गरि खाद्यान्नलगायतको व्यवस्थापन गर्न सोही तहलाई जिम्मा दिने तयारी छ ।