जनप्रतिनिधिले नै लुकाए राहतको ७ बोरा चामल

काठमाडौं– केही गाह्रो–अफ्ठ्यारो पर्छ की भनि भरोसा गरेर आफ्नो अमूल्य मत दिई विजयी गराएको व्यक्तिले तिनै मतदाताको भोक र प्यासमाथि नै खेलबाड गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ का वडा सदस्य परशुराम कार्कीले कोरोना भाइरसबाट प्रभावित जनतालाई वितरण गर्नुपर्ने राहतको ७ बोरा चामल आफ्नै घरमा लुकाएका छन् ।
सरकारले असंगठित क्षेत्रका मजदुरहरुलाई राहत वितरण गर्ने निर्णय गरेपछि सो वडा कार्यालयले पनि नामावली संकलन गरी ४५ बोरा चामल, तेल, नुन, दाल, साबुनलगायतका दैनिक उपभोग्य वस्तु वितरण गरेको थियो । सोही क्रममा वडा सदस्य कार्कीले ७ बोरा चामललगायतका अन्य वस्तु वितरण नगरी आफ्नो घरमा लुकाएर राखेका थिए ।

सदस्य कार्कीले ७ बोरा चामल लुकाएको विषयमा पाथिभरा न्यूजले राखेको जिज्ञासामा वडा नम्बर ९ का वडा अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले स्वीकार गरे । यसरी जनता समस्यामा पर्दा पनि राहतको चामल लुकाउने जनप्रतिधिलाई कस्तो कारवाही हुन्छ भन्ने हाम्रो थप जिज्ञासामा वडा अध्यक्ष सापकोटाले भने, ‘उहाँले गल्ती–कमजोरी भएको स्वीकार गरिसक्नुभएको छ । बाँकी प्रक्रियाको लागि नगरपालिकासमक्ष पेश गरेका छौँ, के–कस्तो कारवाही गर्ने भन्ने कुरा नगरले टुंग्याउँछ ।’ यस विषयमा थप कुराकानी गर्नका खोज्दा कार्कीसँग सम्पर्क हुन सकेन ।

बूढानीलकण्ठ नगरपालिकाको कार्यपलिकाले पनि सो विषयमा जानकारी प्राप्त गरेको हुनाले तत्कालै नगर कार्यसमितिको बैठक बसी आवश्यक कारवाही अगाडी बढाइने नगरका सूचना अधिकारी शम्भु कुमार थापाले बताए ।

राहतमा घोटला भएको सार्वजनिक भएपछि सम्बन्धित नगरपािलकाको मेयर वडा अध्यक्षलागायत अन्य व्यक्तिहरुको आज साँझ गोप्य छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।