कोरोनाबाट बच्न २०२२ सम्म नै सामाजिक दुरी कायम राख्नुपर्छ

वासिङटन– कोरोना भाइरसको संक्रमणको खतराबाट बच्नका लागि आगामी सन् २०२२ सम्म नै सामाजिक दुरी कायम गर्नु पर्ने निष्कर्ष एक अध्ययनले निकालेको छ ।

अमेरिकाको क्याम्ब्रिजमा रहेको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको एक अध्ययनले कोरोना भाइरसको संक्रमणको खतरा कम्तीमा पनि २०२२ सम्म रहिरहने देखाएको हो ।

विश्वविद्यलायका स्टेफन किसलरले नेतृत्व गरेको टोलीले कोरोना भाइरसको चरित्र, सर्ने प्रवृत्ति, क्षमतालगायतलाई आधार मानेर यो निष्कर्ष निकालेको जनाएको छ ।

विश्वभरी सवै जसो देशमा पुगिसकेको कोरोना भाइरसलाई विश्वभरीबाटै निर्मुल पार्नु ठूलो चुनौतीपूर्ण कार्य भएको र अहिलेको चरणमा नियन्त्रण जस्तो देखिएपनि अर्को चरणमा पुनः फैलिनसक्ने पनि उनीहरुले अनुमान गरेका छन् ।

अनुसन्धानकर्ताहरुले कोरोना भाइरस विरुद्धको कुनै खोप नआएमा वा यसलाई नियन्त्रण गर्ने कुनै उपाय सृजना नभएसम्म सामाजिक दुरी कायम गर्नै पर्नेमा जोड दिएका छन् ।

सामाजिक दुरी कायम गर्नु वा उच्च निगरानीमा रहेर उपचार गराउनु नै यसबाट बच्ने मुख्य उपाय हो, अनुसन्धानकर्ताहरुले अध्ययन प्रतिवेदनमा लेखेका छन् ।

उनीहरुले उच्च सतर्कतासहितको उपचार सेवालाई सवै देशले थप विस्तार गर्नु पर्नेमा पनि जोड दिएका छन् । अध्ययनकर्ताहरुले सन् २०२४ सम्ममा मात्र कोरोना भाइरस विरुद्ध सजिलै लड्न सक्नेगरी व्यवस्थापन हुने अनुमान पनि गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले पनि औषधी वा खोप तयार नहुदासम्म यो रोगको जोखिम रहिरहने जनाएको छ । संगठनले विश्वभरी दर्जनौ बैज्ञानिकहरुले खोप तयार पार्न परिक्षण र प्रयासहरु जारी राखेको पनि जनाएका छन् ।

कोरोना भाइरसका कारण बुधबारसम्म संसारभरी २० लाख १६ हजार ७९४ जना संक्रमित भएका छन् भने एक लाख २७ हजार ९९४ जनाको मृत्यु भएको छ ।

यसको संक्रमण अहिलेसम्म २१० देशमा फैलिएको छ । मृत्यु हुने र संक्रमित हुनेहरु सवैभन्दा धेरै अमेरिकामा रहेका छन् । अमेरिकामा छ लाख १४ हजार २४६ जना विरामी हुँदा २६ हजार ६४ जनाको मृत्यु भएको छ ।