लकडाउनमा फस्दा महाकाली पारि नै आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो

काठमाडौं– नेपाल आउने क्रममा लकडाउनमा फसेको कारण भारतीय क्वारेन्टाइनमै आमाको किरिया बस्न बाध्य भएका दार्चुलाका वासुदेव भट्टलाई आज नेपाल ल्याइएको छ ।

उनलाई जिल्ला प्रशासन कार्यालय दार्चुलाको पहलमा आज दिउँसो नेपाल ल्याइएको हो ।

भट्टलाई धार्चुलास्थित भारतीय क्वारेन्टाइनस्थलबाट आइतबार दिउँसो १ः३० बजे नेपाल ल्याइएको वताईएको छ ।

भट्टलाई अहिले स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । उनलाई घर पठाउने या अस्पतालमै राख्ने विषय उनको र्‍यापिड टेस्टको नतिजापछि टुंगिने प्रजिअ यदुनाथ पौडेलले बताए । ‘जिल्ला अस्पतालमा भट्टको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गरेका छौं । रिपोर्ट नेगेटिभ आएमा आएमा उहाँलाई आजै घर पठाइने छ,’ प्रजिअ पौडेलले भने ।

रोजगारीका लागि भारत गएका शैल्यशिखर नगरपालिका–१ का भट्ट लकडाउनका कारण धार्चुलास्थित क्वारेन्टाइनमा आश्रय लिइरहेका थिए । यही बसिरहेका बेला केही दिनअघि आमाको मृत्यु भएपछि उनी त्यही काजकिरिया बसेका थिए । भट्टलाई काजकिरियाका लागि नेपाल ल्याउनुपर्ने चौतर्फी दबाव परेपछि प्रशासनको पहलमा आइतबार ल्याइएको हो ।

अझै पनि दार्चुलापारि धार्चुलामा ५ सय ५० भन्दा बढी नेपाली रोकिएका छन् ।