किट अभावले शङ्कास्पद व्यक्ति परीक्षणबिनै फर्कँदै

जाजरकोट– जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ । कोरोना परीक्षणका लागि शिवालय गाउँपालिकामा पुगेका १७ जना किट अभावमा परीक्षणबिनै फर्कन बाध्य भएका छन् ।

गाउँपालिकाले भारत र अन्य मुलुकबाट हालै आएकाको कोरोनाको द्रुत खोज परीक्षण गर्नका लागि सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो । परीक्षणका लागि शनिबार विदेशबाट आएका ४१ जना उपस्थित भए पनि किट २४ मात्रै भएकाले अन्य १७ जना परीक्षण नगरी फर्कन बाध्य भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बुढाले बताए । एक महिनाको अवधिमा आएका उनीहरू सबै होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।

कोरोना परीक्षणका लागि शनिबार किटसहित जिल्ला अस्पतालका चिकित्सक औसरसिंह राठौरसहितको टोली शिवालय पुगेको थियो । जिल्लामै किट नहुँदा थोरै लिएर आएको तर परीक्षण गर्नेको सङ्ख्या धेरै हुँदा फर्काउनुपरेको डा राठौरले बताए । परीक्षण गरिएका २४ सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको डा राठौरले बताए । बाँकीको पुनः किटको व्यवस्था गरेर परीक्षण गरिने गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले बताए । कर्मचारी र अन्य सर्वसाधारणले पनि परीक्षण गर्नुपर्ने भएकाले कम्तीमा शिवालय गाउँपालिकामा मात्र एक हजार किटको आवश्यकता पर्ने शाहीको भनाइ छ ।

जाजरकोटमा हालसम्म गरिएको कोरोनाको द्रुत परीक्षणबाट २९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । छ पालिकामा कोरोनाको द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । शिवालयमा २४, भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५, नलगाड नगरपालिकामा ४३ र छेडागाड नगरपालिकामा २४ जनाको द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

एक महिनायता भारत र अन्य मुलकबाट आएकाहरूको परीक्षण गरिएको हो । अन्यको भने किट अभावमा हुनसकेको छैन । सरकारले जाजरकोट जिल्लाका लागि ३०० आरडिटी किट मात्र पठाएको हो । पाँच सय जति विदेशबाट मात्र आएका छन् । विदेशबाट आएका र शङ्कास्पदको समेत परीक्षण गर्न सकिएको छैन । लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरूको भने किट अभावले परीक्षण गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताए । अहिलेसम्म परीक्षण गरिएका सबैमा नेगेटिभ रिपोर्ट आएको छ । उनले भने, “थप परीक्षणको दायरा बढाउन कम्तीमा तत्काल आवश्यक आरडिटी किट माग गरेका हौँ तर स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा समेत किट नभएपछि समस्या देखिएको छ ।”