गुगल र फेसबुकले समाचार सामग्री प्रयोग गरेबापत पैसा तिर्नु पर्ने

ब्रिसबेन, अस्ट्रेलिया– अस्ट्रेलिया सरकारले गूगल र फेसबुकले अस्ट्रेलियाली समाचार संस्थाका सामग्री प्रयोग गरेबापत आमसंचार माध्यमलाई भुक्तानी गर्नुपर्ने बताएको छ ।

अस्ट्रेलियाका अर्थमन्त्री जोश फ्राइडेनबर्गले अस्ट्रेलियाली संचार माध्यमका समाचार र अरु सामग्री प्रयोग गरेबापत गूगल र फेसबुकले भुक्तानी गर्नु पर्दछ र यससम्बन्धी कानुन ल्याइने बताएका छन् । उनले आगामी जुलाईसम्ममा अमेरिकी प्रविधि कम्पनीहरुका लागि लागू हुनेगरी त्यस्तो कानुन कार्यान्वयनमा ल्याइने दृढता व्यक्त गरे ।

अर्थमन्त्री फ्राइडेनबर्गले यो घोषणा यी प्रविधि क्षेत्रका कम्पनीलाई जिम्मेवार बनाउन गरिएको हो भन्दै यसबाट प्रतिस्पर्धी क्षमता विकास गर्न मद्दत पुग्ने बताए । उनले भने, “यो व्यवस्थाबाट पत्रकारिता क्षेत्रको रोजगारी संरक्षण गर्न मद्दत गर्नेछ र यो व्यवस्थाले सबैलाई फाइदा पुग्नेछ ।”

गुगल र फेसबुकको अस्ट्रेलियाली समाचार उद्योगमा ठूलो प्रभाव रहेको छ । अनलाइन विज्ञापनमा हुने खर्चको झण्डै दुई तिहाई हिस्सा यिनै दुई कम्पनीले आम्दानी गरिरहेका छन् ।

संचार क्षेत्रको आम्दानी घटेसँगै अस्ट्रेलियाली समाचार माध्यमहरुले विगत ६ वर्षको अवधिमा झण्डै २० प्रतिशत रोजगारी कटौती गरिसकेका छन् ।

सरकारको पछिल्लो व्यवस्थाबाट विज्ञापनको आम्दानीमा संचार क्षेत्रको हिस्सा बढेमा त्यसो गर्ने यो विश्वमै पहिलो मुलुक हुनेछ । यही समस्यालाई सुल्झाउन फ्रान्सले गत वर्ष युरोपेली युनियनमै पहिलोपटक बौद्धिक सुरक्षा कानुन ल्याएको थियो, तर गूगलले फ्रान्सलाई भुक्तानी गर्न अस्वीकार गरिरहेको छ । फ्रान्सेली समाचार सामग्री राखेको आरोपको जवाफ दिँदै गूगलले आफ्नो साइटमा फ्रान्सेली समाचार नै नराख्ने चेतावनी दिएको छ ।

फ्रान्सेली अधिकारीहरुले अन्ततः गूगलसँग मध्यस्थता गर्नु परेको थियो । यही परिस्थिति स्पेनमा पनि देखिएको छ, जहाँ गूगलले समाचार सामग्रीको भुक्तानी दिन नसकिने भन्दै आफ्नो गूगल न्यूज सेवा सन् २०१४ देखि नै बन्द गरेको छ ।

फेसबुकका लागि अस्ट्रलिया र न्यूजील्यान्ड व्यवस्थापन निर्देशक विल इस्टोनले अस्ट्रेलिया सरकारको घोषणाबाट आफूहरु निराश भएको बताएका छन् । उनले फेसबुकले अस्ट्रेलियाली प्रकाशकहरुलाई मद्दत गर्न दशौं लाख डलर खर्च गरिसकेको पनि बताए ।

गुगलका एक जना प्रवक्ताले अस्ट्रेलियाली प्रकाशकहरु र सरकारी निकायहरुसँग यस बारेमा छलफल गर्न सदैब तत्पर रहेको बताएका छन् ।

मर्डक न्यूज कर्प अस्ट्रेलेसियाका कार्यकारी अध्यक्ष मिसेल मिलरले सरकारले गरेको घोषणा निकै महत्वपूर्ण रहेको बताउँदै दुई दशकदेखि गूगल र फेसबुकले अरुकै सामग्रीबाट खर्बौं डलर आम्दानी गरेका तर त्यसको भुक्तानी गर्न अस्वीकार गरिरहेकामा आक्रोश व्यक्त गरे ।

एक अध्ययनअनुसार अस्ट्रेलियामा हरेक महिना करिब १ करोड ७० लाख मानिसले फेसबुक चलाउँछन् भने एक दिन फेसबुकमा औसत ३० मिनेट व्यतित गर्दछन् । करिब ९८ प्रतिशत अस्ट्रेलियालीले मोबाइलमा सर्च गर्न गूगलको प्रयोग गर्दछन् । एएफपी