कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या २४ लाखभन्दा बढी, मृतकको संख्या १,६५,००० पुग्यो

जेनेभा– विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर संक्रमित व्यक्तिको संख्या २४ लाख नाघेको छ । संयुक्तराज्य अमेरिकामा मात्र ७ लाख ६४ हजारभन्दा बढी व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनद्वारा सार्वजनिक विवरण अनुसार सोमबार मध्यान्हसम्ममा अमेरिकामा ४० हजार ५६५ जनाको मृत्यु भएको छ । एएफपीका अनुसार विगत २४ घण्टामा अमेरिकामा मात्र १ हजार ९९७ जनाको मृत्यु भएको छ । अघिल्लो दिन पनि अमेरिकामा १ हजार ८९१ जनाको ज्यान गएको थियो ।

अमेरिकाका सबैजसो राज्यमा लकडाउन र सामाजिक दूरीका कडा नियमहरु लागू गरिए पनि संक्रमितको संख्या र मृत्यु दर दुबैमा अझै कमी आएको छैन ।

मानिसहरु सडकमा उत्रिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई पुनः खुला गर्न विभिन्न निर्देशिकाहरु राज्यका गभर्नरलाई सुझाए पनि लकडाउन खोल्ने बारेमा स्पष्ट भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राज्यका गभर्नरहरुले लकडाउन खुकुलो बनाउन पर्याप्त ध्यान नदिएको भन्दै तिखो आलोचना गरेका छन् । बन्दाबन्दीको अवस्था लम्बिएसँगै हजारौं अमेरिकीहरुले राज्यका आदेशलाई बेवास्ता गर्दै सडकमा उत्रिएका छन् ।

वासिङटन राज्यमा दुई हजारभन्दा बढी मानिसहरुले सामाजिक दूरी कायम राख्नुपर्ने नियमको बेवास्ता गर्दै राज्यको राजधानीमा प्रदर्शन गरेका छन् । उनीहरुले लकडाउन जतिसक्दो चाँडो खोल्न गभर्नरसँग आग्रह गरेका थिए ।

डेन्भरमा बन्दाबन्दीको विधि कोविड–१९ भन्दा खराब रहेको प्लकार्ड सहित सहभागीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीका अनुसार बन्दाबन्दीले अमेरिकी अर्थतन्त्रमा ठूलो नोक्सान भएको र २ करोड २० लाख मानिस रोजगारविहीन भएका छन् ।

कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित न्यूयोर्क राज्यमा मात्र १८ हजारभन्दा बढीको ज्यान गएको छ । न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले मृतकको संख्यामा विस्तारै कमी आउन थालेको बताएका छन् ।

तर अमेरिकी राष्ट्रपति ट्रम्प र गभर्नरहरुबीच स्वास्थ्य परीक्षणमा भएको ढिलासुस्तीप्रति आरोप्रत्यारोप पनि जारी छ । गभर्नरहरुले पर्याप्त स्वास्थ्य परीक्षण गर्न नसकिएको गुनासो गरेका छन् भने राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसका नाममा गभर्नरहरुले राजनीति गरिरहेको दोषारोपण गर्नु भएको छ ।

ट्रम्पले डेट्रोइट, न्यू अर्लियन्स र ह्युस्टनजस्ता शहरहरुमा कोरोना संक्रमण व्यापक रुपमा घटेको प्रमाणित भइसकेको जनाउँदै “हामी जतिसक्दो चाँडो हाम्रो मुलुकलाई खुला गर्दैछौं” भने ।

अमेरिकामा लकडाउन अन्त्य गर्न प्रदर्शन भइरहे पनि कोरोनासँग संघर्षरत युरोपेली मुलुकहरुमा कतै लकडाउन र आपतकालको अवधि बढाइएको छ भने डेनमार्क, स्वीडेन जस्ता केही मुलुकले प्राथमिक विद्यालयहरु खोलेका छन् ।

कोरोनाभाइरसका कारण अहिलेसम्म अमेरिकापछि सबैभन्दा धेरै मृत्यु हुनेको संख्या इटली, स्पेन, फ्रान्स, बेलायत जस्ता समृद्ध मुलुकमा केन्द्रित छ ।

नेपाली कामदारको संख्या निकै बढी रहेको कतारमा कोरोनाभाइरसबाट कूल संक्रमित व्यक्तिको संख्या ५ हजार ४४८ पुगेको छ । कतार समाचार एजेन्सी (क्युएनए) का अनुसार पछिल्लो पटक ४४० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कतारमा हालसम्म ८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । कतारमा ६२ हजार ५३८ जनाको कोरोना संक्रमणको परीक्षण गरिएको छ । सरकारले कतारमा जारी लकडाउनलाई सम्मान गर्न आमजनतालाई आग्रह गरेको छ । एपी