बन्दाबन्दीको शान्तिमा चिरबिराउँदैछन् चराहरू

भद्रपुर– कोरोना भाइरसको महामारीले धरतीको सबैभन्दा चतुर प्राणी मानिस घरभित्रै बन्दी भएको एक महिना पुग्नै लाग्दा जङ्गलमा रम्दै आएका चराचुरुङ्गी भने शहर र सडकतिर निष्फिक्री कावा खाँदै स्वतन्त्रतापूर्वक चिरबिराउन थालेका छन् । मानौँ चराहरूका लागि यतिबेला हस्तक्षेपरहित अकल्पनीय आनन्दको स्वर्गानुभूति भइरहेको छ ।

सडकमा यातायातका साधन गुडेका छैनन् । कलकारखानाले अहिले प्रदूषणकारी धुवाँ उडाएका छैनन् । हवाईजहाज र गाडीहरूको कर्कश आवाज पनि अहिले छैन । मानिसको हुल पनि छैन । प्रकृतिका अनुपम सङ्गीतकार मानिएका चराहरूको आह्लादकारी चिरबिर अहिलेको बन्दाबन्दीमा थुनिएको मान्छेको कानसम्म गुञ्जिरहेको छ । चराविद् देवेन्द्र खरेलका अनुसार स्वतन्त्रता रुचाउने पक्षीहरू मान्छेको चहलपहल नभएको अहिलेको अवस्थामा ज्यादै रमाएका हुन् । शहरका मुख्य बजार क्षेत्रमा ढुकुरका जोडीहरू ढुकुरकुर गर्दै प्रणयधुन सुनाइरहेको र सडकका सानाठूला रुखहरूमा अनेकौँ प्रकारका चराले बच्चा कोरलिरहेको उनले बताए । उनले नेपालमा ८८६ प्रजातिका चरा भएको बताए ।

“ध्वनि प्रदूषण घटेपछि चराले शान्ति अनुभूति गर्छन् र तिनीहरू उडेर, नाचेर र चिरबिराएर रमाउन थाल्छन्”, चराहरूको खोज, अनुसन्धान र फोटोग्राफी गरिरहेका झापा मेचीनगरका खरेल भन्छन्, “चैत–वैशाख धेरै चराले गुँड बनाउने र अण्डा कोरल्ने मौसम हो, लकडाउनले साह्रै राम्रो भएको छ ।” राजमार्ग र बजारभित्रका रुखमा यतिबेला शान्तपूर्वक चराले बच्चा कोरलिरहेको उनले जानकारी दिए ।

गर्मी चढेसँगै झापा, मोरङ, सुनसरी र सप्तरीका सिमसार क्षेत्रमा साइबेरिया, श्रीलङ्का र अफ्रिकाबाट समेत पाहुना चरा आइरहेका छन् । ती आगन्तुक चराचुरुङ्गीलाई बन्दाबन्दीले यसअघि कहिल्यै नपाएको स्वतन्त्रता र बच्चा कोरल्ने शान्त वातावरण दिएको नेपाल पक्षी संरक्षण सङ्घका आजीवन सदस्यसमेत रहेका चराविद् खरेलको भनाइ छ । बन्दाबन्दीको अवस्थामा नन्दीजन्य सामग्रीको उत्खनन नभएका कारण पानीचरासमेत उन्मुक्त भएका छन् । हुटिट्याउँ, सिम कुखुरा, बट्टाई चरा खोलाका बगर र सिमखेततिर जताजतै देखा पर्न थालेका छन् । प्रजनन मौसममा लज्जालु स्वभावका चरालाई मान्छेबाट डरत्रास नहुँदा बच्चा कोरोल्न सजिलो भएको छ ।

जुरे कोइली, ठूलो जुरे कोइली, रङ्गीबिरङ्गी काजले चरा, सानो मयूर, निलपुच्छ«ेलगायतका दर्जनौँ नयाँ चरा यतिबेला झापाको घरगाउँ छेउछाउका साना वनमा भेटिने गरेको उनीको भनाइ छ । ती चराले सडक आसपासमा रहेका रुखमा बच्चा कोरलिरहेका छन् । “बन्दाबन्दीले सडक सुनसान छन्, मान्छेको चहलपल छैन”, उनी भन्छन्, “चराचुरुङ्गी साँच्चै रमाएका छन् । लज्जालु स्वभावका चराले यो समयमा सहजरूपमा बच्चा कोरलिरहेका छन् ।”

उनले नदीनालामा उत्खनन रोकिएसँगै पानी सफा भएको र माछा, किरा, लेउ र अन्य जीवको आहारामा निर्भर बकुल्ला, टिकटिकेलगायतका चरा खोलाखोल्सीमा बढी देखिन थालेको बताए । यी रैथाने चरासँगै विदेशबाट आएका रातो बकुल्ला, पहेँलो बकुल्लासमेत देखिन थालेका छन् । बन्दाबन्दीका कारण जमीनबाट हुने प्रदूषण घटेको र वातावरण सफा बनेकाले पनि चराका लागि तराई भूमि अनुकूल बनेको उनीको भनाइ छ ।

बन्दाबन्दीमा जङ्गल पस्न निषेध गरिएको हुँदा झापाको बाँसबारी, पाँचपोखरी, थोप्लेविरान, हरियालीलगायतका दर्जनौँ सामुदायिक वनमा मान्छेको चहलपहल शून्य छ । लोपोन्मुख अवस्थामा पुगेका जङ्गलका रैथाने पक्षी मयूर, पानीहाँस र वन कुखुरा (कालिज)हरू प्रशस्त देखिन थालेको छ । “म जङ्गलमा चराका नयाँ प्रजाति खोज्दै र क्यामेरामा कैद गर्दै हिँड्छु, तर भुइँमा चारो खोज्दै हिँड्ने यी चरा पहिला हत्तपत्त देखिँदैनथ्यो”, उनले भने, “आजकल जङ्गल छेउछाउ चर्न आएको प्रशस्त देखिन्छन् ।”

उनले कतिपय प्रजातिका चरा अझै पनि मानवाश्रित रहेको बताए । उनीका अनुसार भँगेरा, काग, रुप्पी, परेवालगायतका प्रजाति मानवमा आश्रित छन् । उनीहरू मान्छेले दिएका वा फ्याँकेको खानामा मै बाँचेका हुन्छन् तर, बन्दाबन्दीमा तिनीहरूले खुला परिवेश अनुभूति गरे पनि आहारका लागि सकस भोगिरहेको उनले बताए । भीडभाडमा नडराउने बानी परिसकेका यी चरा मान्छेको घर आँगनमा आएर वा सडकमा फालेका खानेकुरा खाएर पेट भर्ने गर्दथे । यस्ता आश्रित चरा बन्दाबन्दीमा भोकले व्याकुल हुने गरेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले रैथाने चराका लागि कार्यालय परिसरमा चारोको व्यवस्था गरेका छन् । उनले दैनिकजसो बिहान कार्यालय परिसरमै चारो हालेर मानवाश्रित चरालाई सहारा दिँदै आएका छन् ।