स्वास्थ्य सामग्री ल्याएर फर्किए कतार र इत्तिहादका जहाज

काठमाडौँ– कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामग्री बोकेर काठमाडौँ आएका कतार एयरवेज र इत्तिहाद एयरका जहाज फर्किएका छन् । दुवै कम्पनीका वाइडबडी जहाजले अत्यावश्यक स्वास्थ्य सामग्री लिएर आजै काठमाडौँ आएका थिए ।

कतारी शेख अमीर तमीम बिन हमाद अल–थानीले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको ८ टन स्वास्थ्य सामग्री बोकेर कतार एयरवेजको जहाज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

त्यस्तै इत्तिहादको जहाज पनि साँझ ५ बजे काठमाडाँै विमानस्थलमा अवतरण गरेको थियो । संयुक्त अरब इमिरेट्स (युएई) ले पनि नेपाललाई करिब १२ टन स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले स्वास्थ्य सामग्री लिएर आएका दुवै जहाज गन्तव्यतर्फ फर्किएको जानकारी दिनुभयो । उहाँका अनुसार ती स्वास्थ्य सामग्री दुवै देशका नेपालस्थित राजदूतले विमानस्थलमा स्वस्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई हस्तान्तरण गरेका थिए ।

कतारबाट ल्याइएको स्वास्थ्य सामग्री नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले विमानस्थलमा हस्तान्तरण गरेका थिए । मेडिकल सामानमा पिपिई सात हजार, पिसिआर टेस्ट कीट, एन ९५ मास्क, भिटिएम, सिआरआरटी मेशिन, सर्जिकल ग्लब्स, अक्सिजन प्लान्ट, प्रयोगशालायुक्त मोबाइल एम्बुलेन्सलगायतका १४ प्रकारका सामान रहेका छन् ।

त्यस्तै युएईबाट पनि सोही प्रकृतिको स्वास्थ्य सामग्री ल्याइएको बताइएको छ । नेपालका लागि युएईका राजदूत सेइद हम्दन मोहम्मद अल नक्बीले स्वास्थ्य सामग्री स्वास्थ्य राज्यमन्त्री रावतलाई विमानस्थलमै बुझाएका थिए ।