जापानमा आपत्काल अरू बढाउने तयारी

टोकियो– जापानका प्रधानमन्त्री शिन्जो आबेले कोरोनाभाइरसका कारण जारी गरिएको आपतकाललाई अरू एक महिना थप गर्न लागेको स्थानीय संचार माध्यमहरूले बताएका छन् ।

कोरोनाभाइरसको संक्रमण देखिएपछि गत अप्रिल ७ मा देशका सातवटा क्षेत्रमा आपतकाल घोषणा गरिएको थियो । तर कोरोनाको संक्रमण फैलिएसँगै आपतकाललाई देशव्यापी बनाइएको थियो ।

प्रधानमन्त्री आबेले आपतकाललाई आगामी मे महिनाभर वा अर्को जुन महिनाको ६ तारिखसम्म थप गर्न सक्ने स्थानीय संचार माध्यमहरूले जनाएका छन् । बिहीरबा संसदमा बोल्दै प्रधानमन्त्री आबेले मुलुकको स्वास्थ्य सेवाले कठिन परिस्थितिको सामना गर्नु परिरहेको बताएका छन् ।

बुधबार पनि सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री आबेले मानिसहरूमा नयाँ संक्रमण देखिएको बताउँदै भने, “के हामी मे ६ भित्रै आपतकाल हटाउन सक्छौं ? मेरो विचारमा अझ गम्भीर परिस्थिति आउने देखिँदैछ ।”

निक्की अखबार समेतका स्थानीय संचार माध्यमहरूले कोरोनाभाइरस र आपतकालका बारेमा शुक्रबार विज्ञहरूसँग सरकारले छलफल गर्न लागेको बताएका छन् । विज्ञहरूले भने आपतकालको घोषणालाई यथावत राख्न सुझाव दिँदै आएका छन् ।

आपतकालको घोषणा कहिले गरिन्छ भन्नेमा अझै स्पष्ट भइसकेको छैन । तर प्रधानमन्त्री आबेले निर्धारित मितिभन्दा अगाबै आपतकालको घोषणा गरी द्विविधा अन्त्य गरिने बताए । उनले व्यवसाय, विद्यालय र संस्थाहरू खोल्न उपयुक्त समय आवश्यक हुने पनि बताए ।

जापानमा आपतकाल घोषणा गरिए पनि उल्लंघन गर्नेमाथि सजायको व्यवस्था नगरिएका कारण युरोप वा अन्यत्रको जस्तो आपतकालीन व्यवस्था लागू भएको छैन । गभर्नरहरूलाई व्यवसाय वा स्कुल बन्द गर्न तथा मानिसलाई घरभित्रै बस्न आग्रह गर्न सक्छन् तर त्यसको उल्लंघन गर्नेमाथि कारबाही गरिन्न ।

क्षेत्रीय गभर्नरहरूले आपतकाललाई बढाउन यसअघि नै आवाज उठाएका छन् । अप्रिलमा शुरु हुने विद्यालयको नयाँ सत्रलाई सेप्टेम्बरमा सार्न सुझाव पनि गभर्नरहरूले दिएका छन् । जापानमा गत मार्चदेखि नै विद्यालयहरू बन्द छन् ।

जापानमा संयुक्तराज्य अमेरिका र युरोपको जस्तै कोरोना संक्रमण छैन । जापानमा करिब १४ हजारमा कोरोना संक्रमण देखिएको छ भने ४१५ जनाको मृत्यु भएको छ ।

तर जापानमा कम परीक्षण गरिएको भन्दै आलोचना हुने गरेको छ । कोरोनाभाइरसको संक्रमणको वास्तविक वृद्धिदर अस्पष्ट रहेको उनीहरूको भनाई छ । एजेन्सी