रोल्पामा चार बालबालिकाको बम बिष्फोटमा मृत्यु

रोल्पा– त्रिवेणी गाउँपालिका –७ गैरीगाउँमा आज अपराह्न भएको बेवारिसे बम विस्फोटनमा परी चार बालबालिकाले ज्यान गुमाएका छन् । गाउँदेखि केही टाढा खोला नजीक गाईबाख्रा चराउन गएका बालबालिकाको बम विस्फोटमा ज्यान गएको हो ।

मृत्यु हुनेमा त्रिवेणी –७ का पाँच वर्षीय विजय खत्री, १४ वर्षीय लोकिराम डाँगी र ११ वर्षीया विमला खत्री तथा वडा नं ४ का १३ वर्षीय गौरव नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

गाउँमा बम विस्फोटको ठूलो आवाज सुनेर स्थानीयवासी घटनास्थल पुग्दा बालबालिकालाई रक्ताम्य अवस्थामा फेला पारेका थिए । घटनास्थलमा अर्को बम पनि रहेकाले निष्क्रिय गर्न दहवनस्थित नेपाली सेनाको टोली घटनास्थल तर्फ आउँदै गरेको वडा नं २ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए ।

घटना भएको प्रहरीले पुष्टि गरेको छ । घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रनाउ गुरुङले बताए । घटनास्थल निकै दुर्गममा रहेकाले कसरी घटना भयो भन्ने सबै जानकारी आइनसकेको समेत उनले बताए ।