कोरोना अपडेटः विश्वभर एकै दिन ५ हजार ८०० को मृत्यु

जेनेभा– कोरोनाभाइरसका कारण विश्वभर २ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३३ लाख १८ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५ हजार ८०० जनाको ज्यान गएको छ । संयुक्तराज्य अमेरिकामा मात्र २ हजार २०० जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या ३५ हजार नाघ्यो

भारतमा कोविड–१९’ संक्रमितको संख्या ३५ हजार ४३ पुगेको शुक्रबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार १४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गएको २४ घन्टायता भारतमा एक हजार ९९३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ७३ जना रहेको छ । भारतमा देखिएका यी संंक्रमितहरूमध्ये ८ हजार ८८८ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २५ हजार ७ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

शुरुदेखि नै भारतको महाराष्ट्र कोरोना भाइरसबाट अत्यन्त प्रभावित राज्यको रूपमा रहेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार पनि यो क्रम जारी नै रहेको उक्त महाराष्ट्र राज्यमा मात्र संक्रमितहरूको संख्या १० हजार ४९८ जना पुगेको उक्त मन्त्रालय बताएको छ । महाराष्ट्रमा कोरोना भाइरस संक्रमणको कारण ४५९ जनाले ज्यान गुमाएका छन् ।

रसियामा २४ घण्टामा ७ हजार ९३३ जनामा संक्रमण

रसियामा गत २४ घण्टामा ७ हजार ९३३ जना कोरोना भाइरस सक्रमितहरु थपिएका छन् ।

यसैसँगै शुक्रबारसम्म रसिया कुल संक्रमितको संख्या १ लाख १४ हजार ४३१ पुगेको देशको कोरोना भाइरस परिक्षण केन्द्रले जानकारी दिएको छ । रसियामा कोरोना भाइरसको संक्रमणको कारण १ हजार १६९ को मृत्यु भएको छ ।

विश्वभरि ३३ लाख भन्दा बढी कोरोना भाइरस संक्रमित भएका छन् भने २ लाख ३४ हजार भन्दाको मृत्यु भएको छ ।

पाकिस्तानका सभामुख र छोराछोरीलाई कोरोनाको सङ्क्रमण

पाकिस्तानको राष्ट्रिय सभाका सभामुख असद क्विसेर र उनका छोराछोरीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।

देशभरी १६ हजार ३५३ जना सङ्क्रमित भइसकेको बेला सभामुख र उनका छोराछोरीलाई पनि सङ्क्रमण भएको बिहीबार पुष्टि गरिएको हो ।

आफु कोरोनाभाइरसबाट सङ्क्रमित भएको उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् पनि जानकारी दिएका छन् । उनले आफु सङ्क्रमित भएको पुष्टि भएकाले आफै क्वारेन्टाइनमा बसेको पनि बताएका छन् ।

उनले लेखेका छन्, “मलाई कोरोनाभाइरसको परिक्षण गर्दा सङ्क्रमण भएको नतिजा देखिएको छ, त्यसैले म मेरै घरमा क्वारेन्टाइनमा बसेको छु ।”

पाकिस्तानमा शुक्रबारसम्म देशभरी ११ हजार ७४० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

कुल सङ्क्रमितमध्ये चार हजार १०५ जना सङ्क्रमण मुक्त भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

अहिले सङ्क्रमण अवस्थामै रहेकामध्ये १५३ जनाको अवस्था गम्भीर छ भने अहिलेसम्म कुल ३६१ जनाको मृत्यु भएको छ ।

यसअघि तीन दिन पहिलो सिन्ध प्रान्तका गभर्नर इमरान इस्माईललाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको थियो ।

पाकिस्तानमा सवैभन्दा धेरै सङ्क्रमण पञ्जा प्रान्तमा देखिएको छ । पञ्जावमा छ हजार २२० जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी छ हजार ५३ जना सिन्ध प्रान्तमा, दुई हजार ३१३ जना खैबर पख्तुन्ख्वामा, ९७८ जना बालुचिस्तानमा, ३३९ जना गिल्गिट बाल्टीस्थानमा, ३१३ जना इस्लामावाद प्रदेशमा र ६६ जना पाकिस्तान नियन्त्रीत जम्मु काश्मिर प्रदेशमा सङ्क्रमितहरु रहेको जनाइएको छ ।

सरकारी तथ्याङ्क अनुसार देशभरी १५० भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ । ती मध्ये केही चिकित्सक पनि रहेका छन् ।

कोरोनाभाइरसको सङ्क्रमणका कारण मृत्यु भएका मध्ये पाँच जना स्वास्थ्यकर्मीहरु पनि परेको जनाइएको छ ।

स्वास्थ्यकर्मीहरुलाई अत्यावश्यक मानिएको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) पर्याप्त रुपमा उपलब्ध नभएकाले उनीहरुमा सङ्क्रमण फैलिएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सी