लकडाउनलाई खुकुलो बनाउने की यही अवस्थालाई निरन्तरता ?

काठमाडौँ– कोभिड–१९ सङ्क्रमणको जोखिम कायमै रहेका अवस्थामा (बन्दाबन्दी) लकडाउनलाई खुकुलो बनाउने की यही अवस्थालाई निरन्तरता दिने भन्ने बहस शुरु भएको छ । लकडाउनको स्वरुप परिवर्तन गर्नुपर्र्ने आवाज बढ्दै गएको छ । वर्तमान अवस्थामा उपत्यकाका जनप्रतिनिधिले भने आवतजावतमा अझै कडाइ गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण मुलुकका विभिन्न जिल्लामा दैनिकरुपमा देखिँदै आएको छ । आजमात्रै थप दुई जनामा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैले रोगको सङ्क्रमण फैलन नदिन अझै आवतजावत रोक्नुपर्ने आवश्यकता रहेको उपत्यका नगरपालिका फोरमले जनाएको छ । तेस्रो मुलुकसँग भारतबाट आवातजावत पूर्ण रोक्दै आन्तरिकरुपमा पनि उपत्यका र मोफसलको आवतजावतसमेत अझै खुला गर्न नहुने धारणा जनप्रतिनिधिको छ ।

“अहिलेको अवस्थामा उपत्यकाबाट बाहिर जाने र भित्रिने क्रम अझै केही समय रोक्नुपर्छ”, फोरमका सचिव मदनसुन्दर श्रेष्ठले भने, “एक व्यक्तिका कारणले आम समुदायलाई नै प्रभावित बनाउने हुँदा अझै चनाखो हुनु जरुरी छ ।” यद्यपि उपत्यकाभित्रको वातावरणलाई सहजीकरण गर्दै आन्तरिकरुपमा उद्योग कलकारखाना सञ्चालन गर्ने, आर्थिक गतिविधि बढाउने, मजदूरलाई रोजगारी उपलब्ध गराउने कुरामा भने केही खुकुलो गर्नुपर्ने फोरमको निष्कर्ष रहेको श्रेष्ठले बताए । यही निष्कर्षका साथ सरकारलाई अनौपचारिक रुपमा सुझाव दिएकोसमेत उनले बताए ।

उपत्यकामा १६ नगरपालिका र दुई महानगरपालिका छन् । सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागितामा उपत्यका नगरपालिका फोरम गठन गरेर साझा मुद्दामा काम गर्दै आएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको नेतृत्वमा उक्त फोरम छ ।

आन्तरिकरुपमा गतिविधि बढाउँदै उपत्यकाबाट मानिस बाहिरिने र बाहिरबाट उपत्यका भित्रिने गर्दा समस्या आउनसक्नेतर्फ फोरमले आम समुदाय र सरकारी संस्थालाई सचेत गराएको जनाएको छ । उक्त फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन आन्तरिक आर्थिक गतिविधिलाई चलायमान गराउँदै उपत्यका र बाहिरको आवतजावत अझै रोक्नुपर्ने आवश्यकता औँल्याउँछन् ।

“यही अवस्थामा राखिरहँदा आर्थिक क्रियाकलाप थप धराशायी हुन्छ, आन्तरिक गतिविधिलाई चलायमान बनाउनै पर्छ, हामीले यो ३९ दिनको लकडाउन हे¥यौँ, त्यसको आधारमा पनि भ्यालीलाई चलायमान गराउनुको विकल्प हुन्न, तर आवतजावन पूर्ण रोक्नुपर्छ”, महर्जनले भने । उनले केही दिन अघि पूर्वी नेपालबाट गाडीमा मानिस ल्याउँदा जोखिम बढेको भन्दै उनीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिए ।

केही अघि मानिस पैदल हिँड्ने अवस्था थियो तर अहिले भने सबै रोकिएको र मानिसको आवतजावतमा पूर्ण रोक लगाइएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् । गृहमन्त्रालयको निर्देशनमा अहिले प्रहरीले लकडाउनलाई थप कडाइ गरेको उनले बताए ।

सरकारले कोभिड–१९ को सङ्क्रमण जोखिमलाई ध्यानमा राखेर गत चैत ११ गतेदेखि अत्यवश्यक कामबाहेक बाहिर ननिस्किने गरी लकडाउनको आदेश जारी गरेको थियो । लकडाउन यही वैशाख २५ गतेसम्मका लागि जारी छ । पछिल्ला दिनमा दैनिकजसो नै कोभिड–१९ सङ्क्रमण भेटिँदै आएकाले पनि सरकारलाई लकडाउन खुलाउनेमा नैतिक दबाब छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोल उपत्यका आवतजावतमा कडाइ जरुरी रहेको औँल्याउँछन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आजसम्म मुलुकमा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उनले अझै पनि लकडाउनलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याएका छन् । मुलुकमा अहिले लकडाउनलाई लम्ब्याउने की स्वरुपमा परिवर्तन गर्ने बहस चलिरहेको छ । सामाजिक सञ्जालमा समेत लकडाउनलाई निरन्तरता दिनुपर्ने र स्वरुप परिवर्तन गर्नुपर्ने विषयमा चर्काेरुपमा उठिरहेको छ ।

सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार उद्योग कलकारखानालाई सक्रिय गराउने कुरामा सरकार गम्भीर रहेको बताएका थिए । यसअघि सरकारले आन्तरिकरुपमा चलाउन सक्ने उद्योग कलकारखाना तथा कृषि कर्मलाई सञ्चालन गर्ने निर्णयसमेत गरिसकेको छ । यसका लागि स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै बाह्य व्यक्तिको प्रवेश गर्न भने पाउने छैनन् । आर्थिक गतिविधिलाई क्रियाशील बनाउन कै लागि सरकारले कृषकले उत्पादन गरेका आधारभूत खाद्य सामग्रीलाई संस्थानमार्फत खरिद गरी बिक्री गर्ने निर्णय गरेको छ भने असङ्गठित क्षेत्रका मजदूरलाई सरकारी कार्यालयका आयोजनाका काममा लगाउने निर्णय गरिसकेको छ ।