क्वारेन्टाइनमा बसेका युवाले गरे आत्महत्या

उदयपुर– उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्सको क्वारेन्टाइनमा राखिएको एक युवकले गए राति श्रीमतीको सलले घाँटीमा बेरेर आत्महत्या गरेका छन् ।

आत्महत्या गर्नेमा सोही गाउँपालिका–७ गुराँसेका १९ वर्षीय सुमन विक रहेको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए । केही दिनअघि श्रीमतीसँगै काठमाडौँबाट घर आउने क्रममा विकलाई जनता क्याम्स मुर्कुचीको क्वारेन्टाइनमा राखिएको रौतामाई गाउँपालिकाले जनाएको छ । श्रीमतीको सल निकालेर भित्ताको रडमा बाँधी घाँटीमा बेरिएर विकले आत्महत्या गरेको खुल्नमा आएको अध्यक्ष खड्काले बताए ।

उनका अनुसार, अहिले जनता क्याम्सको क्वारेन्टाइनमा विकको सर्जिमिन मुचुल्का गर्ने काम शुरु भएको छ । विक र उनकी श्रीमती काठमाडौँ चाबहिलमा बस्दै आएको र पोखरा–काठमाडौँ ट्राभल एजेन्सीमा काम गर्ने गरेका थिए । उनी वैशाख ११ गतेदेखि रौता जनता क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो । प्रहरी चौकी मुर्कुचीका प्रहरी टोलीले सर्जिमिन मुचुल्का गर्ने काम भइरहेको र विकका आफन्तलाई पनि घरबाट झिकाउने काम भएको अध्यक्ष खड्काले बताए । विकले आत्महत्या किन गरे भन्नेबारे केही खुल्न नसकेको उनले बताए ।