सचिवालय बैठकमा कसले के भने ?

‘हामी जनता र कार्यकर्ताको भावना तथा पार्टी एकताको लागि मात्र तपाईंका पलपलका अपमान सहेर बसिरहेका छौं । तपाईं भने सिंगापुरका तत्कालीन प्रधानमन्त्री लि क्वान युझैँ बन्न खोज्नुभएको छ ।’
नेकपाको बुधबारको सचिवालय बैठक भिड्ने शैलीबाट प्रारम्भ भएको देखियो । गरमागरम प्रस्तुतीको पूर्वानुमानमा रहेका प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्षलाई बोल्नबाट छेक्दै बैठक शुरु गरे । संक्षिप्त भनाई राख्दै उनले भने ‘ल तपाईं बोल्नुस्, आज म बोल्दिँन ।’

त्यसपछि बोलेका प्रचण्डले अर्का अध्यक्षतर्फ लक्षित गर्दै भने ‘तपाईं पार्टी एकीकरणको भोलिपल्टैदेखि एकता बिरोधी काममा लाग्नुभयो ।’ तपाईंलाई हेक्का हुनुपर्छ ‘एकताअघि प्रधानमन्त्रीको अफर आउँदा पनि पार्टीहितलाई हेरेर मैले उक्त योजनालाई त्यागेको थिएँ । त्यसपछि कार्यकाल आधा आधा भन्ने सहमतिलाई पनि छाडेँ । एकल अध्यक्षको प्रस्ताव छाडेँ । क्रमशः सबै चीज छाडेँ । तपाईंले चाहिँ यसवीच केही त्यागेको यौटै मात्र पनि उदाहरण छ ? तर, उल्टै ममाथि एकोहोरो आरोप लगाउँदै आइरहनु भएको छ । यो कुन शैली हो ?”

चकमन्न बैठकमा आफ्ना भनाई राख्दै प्रधानमन्त्रीमाथि प्रहार गर्न उनी रोकिएनन् । ‘एकताबिरोधी क्रियाकलाप गर्ने तपाईं हो । एकतापछिको पहिलो बैठकदेखि एकताबिरोधी कदम चाल्ने पनि तपाईं नै हो । तपाईंले नैतिक धरातल सबै गुमाइसक्नुभयो । अहिले पनि के के तानाबाना बुनिरहनु भएको छ, रातारात क-कसलाई बोलाएर भेटिरहनुभएको छ, हामी सबै कुरामा अपडेट छौं । के तपाईंले मात्र गर्न सक्नुहुन्छ यस्ता कुराहरु ?’ आक्रोशित मुद्रामा प्रचण्डले प्रधानमन्त्रीमाथि बुँदागत रुपमा आरोप लगाईरहँदा सबै किंकर्तव्यविमुढ देखिन्थे ।

प्रचण्डको रिस त्यत्तिमै थामिएन । फेरि बोल्न थाले ‘हामी जनता र कार्यकर्ताको भावना तथा पार्टी एकताको लागि मात्र तपाईंका पलपलका अपमान सहेर बसिरहेका छौं । तपाईं भने सिंगापुरका तत्कालीन प्रधानमन्त्री लि क्वान युझैँ बन्न खोज्नुभएको छ ।’

दाहालले यत्ति के भनेका थिए, प्रधानमन्त्रीले रोकिन संकेत गरे तर पनि दाहाल रोकिएनन् । झन् आक्रोशित मुद्रामा भने, ‘दुबै पदबाट राजीनामा दिनुस् । तपाईंसँग प्रधानमन्त्री बनिराख्ने हैसियत पनि छैन । पार्टीको अध्यक्ष हुन त्याग गर्न सक्नुपर्छ । तपाईंले के त्याग गर्नुभयो ? सर्वत्र भ्रष्टाचारको कुरो आएको छ । तपाईंका गुट र टिमका सदस्य नै भ्रष्टाचारमा मुछिएका छन् ।’

प्रचण्डले भने, ‘यतिखेर तपाईंका भनिएका कतिपय साथीहरु हामीसँग छन् । केही हाम्रा भनिएका साथी पनि तपाईंकहाँ पुगेका होलान् ।’ यसैबीच प्रधानमन्त्रीले दाहाललाई एक्कासी बोल्न रोके ।
आफूमाथि लागेको आरोप एकोहोरो सुनिरहेका प्रधानमन्त्रीप्रति सिलसिलेवार ढंगले थप बुँदा उल्लेख गर्दै प्रचण्डले भने, ‘आफ्नै पार्टी फुटाउन अध्यादेश ल्याउनुभयो । यतिखेर तपाईंका भनिएका कतिपय साथीहरु हामीसँग छन् । केही हाम्रा भनिएका साथी पनि तपाईंकहाँ पुगेका होलान् ।’ यसैबीच प्रधानमन्त्रीले दाहाललाई एक्कासी बोल्न रोके ।

दाहाल रोकिएपछि प्रधानमन्त्री बोल्न थाले ‘यस्तो हो भने म अब धेरै भूमिका बाँध्ने पक्षमा छैन । अहिले राजीनामा दिने कुरो आउँदैन । महामारी सकियोस् अनि सोच्न सकिन्छ । अहिले राजीनामा दिँदा केवल जग हँसाई हुन्छ । अब वामदेवजीलाई संसदमा ल्याउन राष्ट्रियसभा र प्रतिनिधि सभा दुईवटै विकल्प हेरौं । वहाँले पनि कुरो उठाइ रहनुभएको छ । त्यसैले अब प्रधानमन्त्री नै फेर्ने हो भने वहाँलाई बनाऔं । अनि म राजीनामा दिउँला ।’ यति भनिसकेपछि यसो दायाँबायाँ हेरे झैं गरेर प्रधानमन्त्रीले माधव नेपालतर्फ हेर्दै भने ‘उता,माधवजीले पनि के के मागिरहनुभएको छ । वहाँलाई पनि के के चाहिएको छ जस्तो लाग्छ । त्यसैले त्यो पनि दिऔं । वहाँको मर्यादा मिलाउन पनि पार्टीमा तेस्रो अध्यक्ष बनाऔं । बरु, अहिलेको यस्तो अवस्थामा बैठकहरु नबसौं,त्यसको कुनै आवश्यकता नै छैन ।’

झलनाथ खनालले कडा शब्दमा चुनौती दिए, ‘अहिलेको अवस्थामा निकास तपाईंले नै दिने हो । कुर्सीमा बसेर मात्र हुँदैन ।’
प्रधानमन्त्रीले आफ्नो भनाई सकिएको संकेत गरे । त्यसपछि झलनाथ खनाल बोल्न अघि सरे । उनले पनि कडा शब्दमा पार्टी बैठकको सामना गर्न प्रधानमन्त्रीलाई चुनौती दिए । ‘पार्टी बैठकले गरेका कुनैपनि निर्णय नमान्ने भन्ने हुन्छ ? हिजोको निर्णय र आगामी निर्णयहरु पनि अक्षरश: पालना गर्नुपर्ने हुन्छ । तपाईंले नैतिक धरातल गुमाइसक्नुभएको छ । अहिलेको अवस्थामा निकास तपाईंले नै दिने हो । कुर्सीमा बसेर मात्र हुँदैन ।’ ओजिलो र कसिलो मुद्रामा आफ्नो संक्षिप्त धारणा राखेपछि मर्यादाक्रममा बोल्ने पालो आयो वरिष्ठ नेता माधव नेपालको ।

माधव नेपालले पनि आक्रोशमिश्रित लवजमा बोल्दै प्रधानमन्त्रीलाई अहंकार त्याग्न सुझाव दिए । आजको बैठकमा पनि तपाईंले शुरुदेखि अहंकार देखाइरहनुभएको छ भन्दै माधव नेपाल अघि बढे ‘पार्टी बैठकहरुको सामना गर्नुहोस् । जे गर्दै गर्नुहुन्छ, त्यो गलत गर्दै हुनुहुन्छ । यस्तो अवस्थामा पनि अहंकार देखाउने तपाईं ?’ अहंकारले आफैँलाई खान्छ भन्ने सल्लाह दिँदै नेपालले थपे ‘दुई चारजनाको घेरामा प्रचार गर्न लगाएर, गुट चलाएर पार्टी चलाएको डिँग पिट्दै हुनुहुन्छ । अध्यक्ष भएपछि नेतृत्व लिनसक्नुपर्छ । अनि टिममा कस्ता मान्छे राख्नुभएको छ, त्यो पनि पछिल्ला घटनाले छर्लङ्गै भएको छ ।’

माधव नेपाल अघि बढे, ‘यस्तो अवस्थामा पनि अहंकार देखाउने ? दुई चार जनाको घेरामा प्रचार गर्न लगाएर, गुट चलाएर पार्टी चलाएको डिँग पिट्दै हुनुहुन्छ ।’
बैठकमा चौथो नम्बरमा बोलेका वामदेव गौतमले प्रधानमन्त्रीले राख्नुभएको प्रस्ताव राम्रो रहेको र आफूले सपनामा पनि नचिताएको भन्दै फुरुङ्ग परे । उनले थपे ‘अब अध्यक्षले भनेअनुसार प्रधानमन्त्रीबाट राजीनामा दिने हो भने आजै प्रस्ताव ल्याउनुस्,निर्णय गरौं । किन स्थायी समितिको बैठक कुर्ने ?’ तर गौतमको भनाई प्रधानमन्त्रीको प्रस्ताव स्वीकारेको हो वा व्यङ्गय गरेको हो छुट्याउन सकिने खालको चाँहि थिएन ।

वामदेव गौतमपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ बोले । धेरै भूमिका नबाँधी श्रेष्ठले नेकपा पार्टीको विधि र पद्धतिअनुसार नचलेकोमा यसको जिम्मेवारी प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले लिनुपर्ने बताए । साथै,हालको समस्याबाट पार्टीलाई निकास दिने प्रमुख जिम्मेवारी पनि तपाईंकै हो भन्दै घुमाउरो शैलीमा प्रधानमन्त्रीको राजीनामा मागे ।

अरुभन्दा पृथक ढंगले रामबहादुर थापा बादलले बैठकमा आफ्नो धारणा राखेका थिए । उनले भने ‘प्रधानमन्त्रीले राजीनामा दिने कुरो आउँदैन । त्यसैगरी,प्रधानमन्त्रीबाट वामदेव कमरेडलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको छ तर,म उक्त प्रस्ताव खारेजीको माग गर्दछु । अहिलेको अवस्थामा वहाँले राजीनामा दिन हुँदैन । त्यसैगरी पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्तावप्रतिसमेत मेरो असहमति छ । निकास निकाल्न सकिन्छ तर,बीचको बाटो रोजौं ।’ प्रधानमन्त्रीले राजीनामा दिन नहुने र अरु कसैलाई प्रधानमन्त्री वा पार्टी अध्यक्ष बनाउन पनि नहुने भन्दै बीचको बाटो रोजेर समस्या समाधान गर्ने उनको धारणा विषयवस्तुमा खोँचे थाप्ने खालको देखिन्थ्यो ।

अरुभन्दा पृथक ढंगले रामबहादुर थापा बादलले भने, ‘प्रधानमन्त्रीले राजीनामा दिने कुरो आउँदैन । त्यसैगरी, प्रधानमन्त्रीबाट वामदेव कमरेडलाई प्रधानमन्त्रीको प्रस्ताव गर्नुभएको छ तर म उक्त प्रस्ताव खारेजीको माग गर्दछु । अहिलेको अवस्थामा वहाँले राजीनामा दिन हुँदैन । त्यसैगरी पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्तावप्रति समेत मेरो असहमति छ । निकास निकाल्न सकिन्छ तर बीचको बाटो रोजौं ।’
बादलपछि बोलेका ईश्वर पोखरेलले प्रधानमन्त्रीको प्रस्ताव उपयुक्त भएकोले अहिलेको अवस्थामा निकासको एक मात्र विकल्प त्यहि हो भने । साथै, प्रधानमन्त्रीको उक्त अमूर्त सूत्रलाई बचाउँदै अघि बढ्न पनि सबैलाई सल्लाह दिए । आफ्नो धारणा राख्नेक्रममा उनले ‘होइन सबैजना आ-आफ्नो तरिकाले अघि बढ्न खोजिएको हो भने त्यहि हिसाबले गरे हुन्छ’ भन्दै चेतावनी पनि दिए ।

बैठकको अन्तमा महासचिव विष्णु पौडेलले बोलेका थिए । उनले पनि प्रधानमन्त्रीको प्रस्ताव ठीक रहेकोले बैठकले निकास निकाल्नैपर्छ भने । गौतमले वामदेव कमरेडलाई प्रधानमन्त्री बनाउने प्रस्तावलाई मूर्तरुप दिनेगरी अघि बढौं र अहिलेको अवस्थामा जग हँसाउने काम नगरौं भनेपछि बैठक अस्तिको बैठक बिना निस्कर्श सकिएको थियो । जन आस्था