नेकपा रोङ गाउँ कमिटी इलामद्वारा राहत हस्तान्तरण

इलाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोङ गाउँ संगठन कमिटीले कोरोना भाईरस महामारीको चपेटामा परेका अति विपन्न परिवारहरुका निम्ति राहत हस्तान्तरण गरेको छ ।

आज रोङ गाउँपालिकाको उपाध्यक्ष समक्ष रु २ लाख ४२ हजार २ सय पचास रुपैयाँ बराबरको राहत सामाग्री हस्तान्तरण गरेको हो ।

असंगठित क्षेत्रका मजदूरहरु र अति विपन्न परिवारहरुको अवस्थालाई मध्यनजर गर्दै उक्त राहत हस्तान्तरण गरेको नेकपा प्रदेश नम्बर १ का प्रदेश कमिटी सदस्य एवं इलाम संघीय निर्वाचन क्षेत्र नम्बर १ का सह संयोजक हिमाल किँरातीले जानकारी दिए ।

सो राहत संकलन गर्नका लागि इलाम क्षेत्र नम्बर १ का संघीय सांसद् झलनाथ खनाल, १ नम्बर प्रदेशका प्रदेश सभा सांसद् काजिमान कागते, प्रदेश १ का प्रदेश कमिटी सदस्य एवं इलाम संघीय निर्वाचन क्षेत्र नम्बर १का सह संयोजक हिमाल किँराती, नेकपा रोङ गाउँ कमिटीका अध्यक्ष एवं इलाम जिल्ला कमिटी सदस्य वृहस्पति खतिवडा तथा विभिन्न वडा कमिटीबाट सहयोग रकम संकलन गरिएको अध्यक्ष खतिवडाले जानकारी दिए ।

राहत बुझेको भर्पाई

कोरोना भाइरसको कारण लकडाउनको समस्या झेलिरहेका मजदूर वर्ग र विपन्न वर्गलाई निकै अफ्ठ्यारो परेको गुनासो आउन थालेपछि सामूहिक प्रयासमा सो राहत प्याकेजको तयारी गरिएको किँरातीले बताए । सो राहत भोलिदेखि नै वितरण गर्न शुरु गरिने पनि उनले बताए । अब आउँदो दिनहरुमा पनि कमिटी जुनसुकै समस्यामा सहयोग गर्न तयार रहेको उनले बताए ।

त्यसैगरी कुटीडाँडामा रहेको क्वारेन्टाईनमा बसेका १६ जना व्यक्तिहरुको अवस्था बुझ्न जिल्ला समन्वय समिति इलामका उप–प्रमुख चित्रकला बराईली, समितिका सदस्य चन्द्र मगर, वडा नम्बर ५ का वडा अध्यक्ष युवराज राई, वडा नम्बर १ का वडा अध्यक्ष वुद्धी ढकाललगायतका व्यक्तिहरुको क्रियाशीलतामा अनुगमन गरिनुका साथै राहत हस्तान्तरणमा सहभागिता थियो ।

यस अघि गाउँपालिकाको ६ वटै वडामा कमिटीले राहत बाँडिसकेको र राज्यले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने नीति लिएपछि गाउँपालिकालाई कमिटीले यो दोस्रो पटक राहत हस्तान्तरण गरेको रोङ कमिटीका अध्यक्ष खतिवडाले बताए ।

गाउँपालिकाको अध्यक्षमाथि नै आरोप

गाउँपालिकाले वितरण गरेको राहतमा भने स्थानीयले गुनासो गरेका छन् । पालिकाको अध्यक्ष शमसेर राई नेपाली कांग्रेसको भएकाले उनले आफ्ना पार्टीका कार्यकर्तालाई खोजी–खोजी बाँडेको र अन्य पीडित जनतालाई उपेक्षा गरेको स्थानीयहरुले आक्रोसमिश्रीत आरोप लगाएका छन् ।
गाउँपालिकाको अध्यक्ष राईले यस अघि वितरण गरेको राहतमा सर्वपक्षीय भेला नगराई एकलौटी रुपमा आफ्नालाई बाँडिएको र उक्त पालिकाको बजेटबाट बाँडिएको रकम पनि आफ्नो पार्टी कांग्रेसले वितरण गरेको भनेर रोङको वडा नम्बर ६ मा दुष्प्रचारसमेत गरिएको एक स्थानीयले बताए । यस विषयमा अध्यक्ष राईसँग जानकारी लिन खोज्दा सम्पर्क हुन नकेन ।

यस्तो विषम परिस्थितिमा गाउँपालिकाका अध्यक्ष शमसेर राई भने काठमाडौंमा गएर बसेपछि स्थानीय स्तरमा गर्नुपर्ने विभिन्न प्रकोपजन्य योजना, कार्यक्रम, नीति–नियम तर्जुमा एवं कार्यान्वयनमा समस्या आएको र यस्तो अवस्थामा अध्यक्षले गैर जिम्मेवारीपना देखाएको भन्दै स्थानीय वासिन्दाले आक्रोश व्यक्त गरेका छन् । अब उनी गाउँपालिका प्रवेश गरेपछि अन्य व्यक्तिहरु जस्तै अनिवार्य रुपमा १४ दिनको क्वारेन्टाईनमा बस्नुपर्ने निर्णय भएको बताइएको छ ।