विदेशमा नेपालीहरु दैनिक रुपमा समस्यामा पर्दै

काठमाडौं– वैदेशिक रोजगारी, अध्ययन तथा अन्य काम विशेषले देश बाहिर भएका नेपालीहरु दैनिक रुपमा अप्ठेरोमा पर्नैहरुको संख्या बढीरहेको छ ।

कतिपयको भिसा सकिएको छ, केही अवैध रुपमा वसिरहेका छन् भने सरकारले तत्काल कसैलाई पनि फिर्ता नल्याउने अडानमा छ ।

रोजगारीका लागि भारत पुगेका नेपालीहरुले ‘लकडाउन’का कारण रोजगारी नै गुमाएका छन् ।

रोजगारी गुम्दा खाने–बस्नेसमेत समस्यामा परेका उनीहरु स्वदेश फर्कन नेपाल सरकारसँग हारगुहार गरिहेका छन् ।

रोजगारी गुमाएका, भिसा सकिएकाजस्ता गम्भीर समस्यामा परेकाहरुलाई तत्काल स्वदेश फर्काउन चौतर्फी आवाज पनि उठिरहेको छ ।

मलेसिया, साउदी अरब, कुवेतलगायत केही मुलुकहरुले अवैधरुपमा बस्दै आएकाहरुलाई आममाफी दिएका छन् ।

ती मुलुकहरुमा आममाफी पाउने नेपालीको संख्या ३५ हजारजति हुने सरकारको अनुमान रहेको छ ।

सरकारले अप्ठेरोमा परेकाहरुको पहिचान गर्ने र प्राथमिकताको आधारमा स्वदेश फर्काउने बताएपनि तत्काल कसैलाई पनि स्वदेश नल्याउने भएको छ ।

देशभित्र दिनानुदिन संक्रमणको संख्या बढ्दै जानु, पर्याप्त ‘क्वारेन्टाइन’को व्यवस्था नहुनु र जेठ १८ सम्म अन्तर्राष्ट्रिय उडान नै बन्द गरिएकाले तत्काल कसैलाई ल्याउन नसकिने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताउँछन् ।