चार दिनदेखि दशगजामा एक सय नेपाली

नवलपरासी– नवलपरासी९बर्दघाट सुस्ता पश्चिमको नेपाल–भारत सीमा क्षेत्रमा भारतका विभन्न क्षेत्रबाट आइपुगेका करीब एक सय नेपाली चार दिनदेखि दशगजामा छन् । नेपाल–भारत सिमाअन्तर्गत गेर्मी भुजहवा, गुठीप्रसौनी र सुस्ता नाकाको दशगजा क्षेत्रमा नेपाली बसेका हुन् ।

दशगजा आसपास क्षेत्रमा रहेका नेपालीलाई नेपालतर्फ उद्धार गर्न जिल्ला प्रशासन कार्यालयमार्फत माथिल्लो निकायमा आवश्यक समन्वय भइरहेको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका गणपति भरत खनियाले जानकारी दिए ।

सीमा क्षेत्रमा आइपुगेका नेपालीले आफूहरु नेपाल प्रवेश गर्न पाउनुपर्ने माग राख्दै आएका छन् । स्थानीय प्रशासनले नेपाल प्रवेश गर्न खोज्ने नेपालीलाई दशगजा क्षेत्रमा रोक लगाउँदै आएको छ । नेपालीलाई केही स्थानीय तह र सीमा पारि भारत नजीकै रहेका गाउँलेले सामान्य खानापान र त्रिपालको व्यवस्थापन गरेका छन् ।

यसबारे आफूले गृह मन्त्रालयमा जानकारी गराइसकेको र निर्देशन आएपछि मात्र समस्या समाधान हुने प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए । पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा राति खेतको बाटो हुँदै लुकीछिपी नेपालीहरु नेपाल प्रवेश गर्ने गरेका छन् ।

सीमामा लुकिछिपी प्रवेश

राजापुर– नेपाल–भारत सीमा बन्द गरिए पनि बर्दियामा नेपाल–भारत सीमानाकामा लुकिछिपी नेपाल प्रवेशक्रम रोकिएको छैन । बर्दियाको राजापुर नगरपालिकामा ११ वर्षीया बालिकालाई कोरोना पोजेटिभ पुष्टि भएकै दिन मानिसहरु भारतबाट लुकिछिपी बर्दिया प्रवेश गरेका छन् ।

भारतको मन्सुरीमा मजदूरी गर्ने राजापुर ४ दलैका घनश्याम चौधरी र उहाँकी पत्नी सरस्वती राजापुर नगरपालिकाको चौर्गुजी नाका हुँदै नेपाल प्रवेश गरेको स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेपछि दुवैलाई स्थानीय अमर शहीद बहुमखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । यसैगरी सोमबार राति नै राजापुर घर भएका बजारका एक व्यापारी राति कर्णाली तरेर राजापुर बजारमा प्रवेश गरेकाले उनलाई पनि सोही क्वारेन्टाइनमा राखिएको छ ।

नेपालसँग जोडिएको ८३ किमी लामो सीमामा एक हजारभन्दा बढी सशस्त्र र नेपाल प्रहरी तैनाथ छन् । सीमामा कडाइ भएकाले भारतबाट मानिस प्रवेश गर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।