दायरा बढेसँगै सङ्क्रमित थपिँदै

काठमाडौँ– कोभिड–१९ को परीक्षणको दायरा बढेसँगै सङ्क्रमित पनि देखा पर्न थालेका छन् । पछिल्लो दिनमा कोभिड–१९ को परीक्षण बढाएसँगै सङ्क्रमित पनि देखा पर्न थालेका हुन् । सोमबार मात्र २४ जना सङ्क्रमित देखापरेका थिए भने आज मात्र ५७ जनामा सङ्क्रमण देखिएको हो ।

नेपालमा आज देखिएको अहिलेसम्मको सङ्क्रमित सङ्ख्या सबभन्दा ठूलो हो । यसअघि यति ठूलो सङ्ख्यामा सङ्क्रमित देखिएका थिएनन् । अहिलेसम्म १९१ जनामा सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले परीक्षणको दायरा बढेकाले सङ्क्रमित पनि बढेको बताए । “पहिलेको तुलनामा परीक्षणलाई धेरै नै गरेको छाँै,” उनले भने, “परीक्षणको दायरा बढेकाले सङ्क्रमित पनि बढेका हुन् ।”

नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो । त्यसपछि दोस्रो सङ्क्रमण त्यसको दुई महिनापछि चैत १० गते देखिएको थियो । ती दुवै सङ्क्रमित पूर्णरूपमा निको भई घर फर्किसकेका छन् । अहिलेसम्म ३३ जना घर फर्किसकेका छन् ।

अहिले १९ ठाउँमा पिसिआर र ७७ जिल्लामा आरडिटी परीक्षण गर्न थालिएको छ । अहिले दैनिक पिसिआरबाट एक हजार परीक्षण गरिएको छ । आजमात्र दुवै विधिबाट दुई हजार २३६ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म पिसिआरबाट १८ हजार ९६४ जना र आरडिटीबाट ५९ हजार ६२७ जनामा परीक्षण गरिएको छ ।

प्रवक्ता डा देवकोटाले परीक्षणको दायरा बढिरहेकाले अझै सङ्क्रमित देखापर्ने बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भारतबाट आउने मानिसहरूमा परीक्षण गर्दा सङ्क्रमण देखिएको बताए । उनले सम्भावित मानिसको कन्ट्र्याक टे«सिङ गर्दा सङ्क्रमित बढेको बताए । अस्पतालका निर्देशक डा राजभण्डारीले भारतबाट आएका सम्भावित सङ्क्रमित सबैको पिसिआरबाट परीक्षण गर्नुपर्ने बताउनुहुन्छ । आज ५७ जना देखिएकामा कपिलवस्तुका आठ, पर्साका ३९, रुपन्देहीका नौ र बाराका एक जना रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार ती नयाँ सङ्क्रमितको उपचारका लागि अस्पताल लगिएको छ । अहिलेसम्म वीरगञ्जमा २७, राजविराज, भरतपुर तथा बर्दियामा एक–एक, विराटनगरमा १९, रुपन्देहीमा २८, नेपालगञ्जमा २४ गरी १०३ जनाको उपचार भइरहेको छ । अहिलेसम्म प्रदेश नं १ मा आठ हजार ६३, प्रदेश नं २ मा पाँच हजार ९३५, वाग्मती प्रदेशमा नौ हजार ३१६, गण्डकी प्रदेशमा ६ हजार ५१४, प्रदेश नं ५ मा सात हजार २२१, कर्णाली प्रदेशमा सात हजार १६३ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ४१५ जनामा आरडिटी परीक्षण गरिएको छ ।

हाल १२ हजार ७८५ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म २२८ जना आइसोलेशनमा रहेका छन् । प्रदेश नंं १ मा आइसोलेशमा रहेकामध्ये १९ जना सङ्क्रमित र ६ जना सम्भावित रहेका छन् ।

यसैगरी प्रदेश नं २ मा ६८ सङ्क्रमित र १२ शङ्कास्पद, वाग्मती प्रदेशमा एक सङ्क्रमित र २४ शङ्कास्पद, प्रदेश नं ५ मा ७० सङ्क्रमित र २८ शङ्कास्पद रहेका छन् । अहिलेसम्म ३४ हजार ९३१ जनाले मोबाइल एपबाट कोभिड–१९ को स्वमूल्याङ्कन फाराम भरेकामा ३४५ जना रेड जोनमा परेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।