धादिङ सील : नाकामा सुरक्षाकर्मी परिचालन

धादिङ– कोरोना भाइरसको जोखिम बढ्दै जाँदा यहाँको मुख्य राजमार्गमा सवारी साधन , तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरूमा जिल्ला प्रवेशमा कडाइ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिए ।

भारतबाट अत्यावश्यक सामग्री लिएर आएका सवारी साधनको निगरानी बढाइएको छ । खाना, खाजा खान राजमार्गका विभिन्न स्थानमा सवारी साधन रोकिँदा स्थानीयवासीमा सङ्क्रमण बढ्न सक्ने आशङ्कामा सवारी साधन रोक्न निषेध गरिएको उनले बताए ।

जिल्लालाई सबै नाकाबाट भित्रिनेहरूलाई आउन बन्द गरी कोरोनाको जोखिम हुन नदिन जिल्लालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी असमान तामाङले जानकारी दिए । जिल्ला सुरक्षित भएको र अब पनि सुरक्षित राख्न पहिलो चरणमा यही जेठ ५ गतेसम्मलाई सिल गरिएको छ । त्यसपछि अवस्था हेरेर अघि बढ्ने योजना छ ।

राजमार्गमा कडाइ गर्न थालेपछि राजमार्गमा गुड्ने सवारी साधनमा भने कमी आएको छ । यसअघि दिइएको सवारी पास खारेज गरिएको छ । यसका कारण सवारी आवागमन घटेको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नेत्रप्रसाद भट्टले बताए । वैशाख २५ गतेबाट लकडाउनलाई खुकुलो बनाउँदा यातायातका साधनले राजमार्ग नै भरिएको थियो । सरकारले अहिले एक जिल्लाबाट अर्काे जिल्ला प्रवेश गर्नसमेत रोक लगाएका कारण सवारी साधन जिल्लाभित्र मात्र गुड्ने भएपछि केही अत्यावश्यक सवारी मात्र सञ्चालनमा रहेको छ ।

अन्य जिल्लाबाट धादिङ प्रवेश गर्न पुरानो सवारी पास लिएर आउनेलाई नाकाबाट फर्काइएको छ । काठमाडौँ जानका लागि अतिआवश्यक सामान लिएर धादिङको बाटो प्रयोग गर्नेलाई सवारी साधन रोक्न निषेध गरिएको छ । नियमित प्रहरीको गस्ती गरिरहेको छ ।

सीतापाइला जीवनपुर सडकको छत्रेदेउराली, गल्छी, आरुघाट, बुङकोटघाट, बेनीघाटलगायतका नाकामा समेत निगरानी गरिएको छ । हिँडेर आउनेलाई समेत जाँच गरिएको छ भने कुनै शङ्कास्पद कोरोनाको लक्षण देखिएमा आरडिटीबाट जाँच गरिने योजना गरेको छ । अन्य जिल्लाबाट आउनुपर्नेलाई क्वारेनटाइनमा राखेर मात्र पछि घर पठाइने प्रहरीले स्थानीय सरकारलाई सहयोग गर्ने नीति बनाइएको प्रमुख जिल्ला अधिकारी तामाङको भनाइ छ ।

जिल्ला बाहिरबाट तरकारी र फलफूल ढुवानी प्रतिबन्ध गरिएको छ । सबै सामग्री जिल्लाकै भएकाले बाहिरबाट ल्याउन नपाइने भएको हो । कोरोनाको जोखिम बढ्ने भएकाले बाहिरबाट सामान नल्याउने, पाँच महिनाका लागि चामलसमेत मौज्दात भएकाले धादिङ जिल्ला सुरक्षित गर्न सकिने अवस्थामा रहेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।