निरोगी नेपाल स्वास्थ्य नीति, गरिबलाई निः शुल्क स्वास्थ्य सेवा

सरकारको नीति तथा कार्यक्रम

काठमाडौँ– सरकारद्वारा आज जारी संघीय संसद्को दुवै सदनमा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सरकारले निरोगी नेपाल निर्माण गर्ने मूल स्वास्थ्य नीति राखेको बताएको छ भने गरिबलाई निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गर्ने पनि बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निरोगी नेपाल निर्माण सरकारको मूल स्वास्थ्य नीति भएको उल्लेख गरिन् ।

प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमतावृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गरिने समेत कार्यक्रममा उल्लेख गरिएको छ ।

सरकारले आधारभूत स्वास्थ्य सेवा उपलब्ध नभएका स्थानीय तहमा थप दुई हजार ६२६ वडामा पूर्वाधार निर्माण र सेवा उपलब्ध गराइएको भन्दै आगामी वर्ष स्थानीय तहका वडामा रहेका स्वास्थ्य संस्थाको सेवाको गुणस्तर वृद्धि गरिने उल्लेख गरेको छ । सरकारले भूगोल र जनसङ्ख्याका आधारमा हरेक स्थानीय तहमा पाँचदेखि १५ श्ययाको अस्पताल स्थापना र स्तरोन्नति गर्ने उल्लेख गरेको छ ।

गरिबलाई निः शुल्क स्वास्थ्य सेवा

सरकारले गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मिर्गौला, कलेजो र महिला पाठेघरसम्बन्धी रोगको रोकथाम, पहिचान, परीक्षण र उपचारका कार्यक्रम देशव्यापीरुपमा प्रभावकारी बनाइने कार्यक्रममा उल्लेख गरिएको छ ।

वडास्तरीय सेवा केन्द्रबाट ४० वर्षमाथिका नागरिकको रक्तचाप, अल्वुमिन र मधुमेह जाँच गर्ने व्यवस्थासमेत गरिने नीति तथा कार्यक्रममा बताइएको छ ।