नेपाली सेनाका पृतनापतिलाई पनि कोरोना

काठमाडौं– स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतना प्रमुखलाई कोरोना भाइरस संक्रमण भएको पाइएको छ ।

मन्त्रायलले काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।

तर सुरक्षा सम्बद्ध उच्च स्रोतले संक्रमित ५२ वर्षीय पुरुष नेपाली सेनाको पृतनापति भएको अनलाइनखबरलाई बताएको छ । मध्यपूर्वी पृतनामा उपरथीको नेतृत्व छ । बर्दिवासको किशान नगरस्थित पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा उनलाई संक्रमण भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ ।

महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पनि संक्रमित व्यक्ति सेनाको उच्च अधिकृत भएपनि थप विवरण बताउन नमिल्ने बताए ।