आज ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै, कति बढ्ला लकडाउन ?

काठमाडौँ– पछिल्लो समय महामारीको रुपमा आएको कोरोना भाईरस र त्यसले पारेको असरको सन्दर्भ, बजेटलगायत अन्य सामयिक विषयहरुमा छलफल गर्न आज साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ ।

बैठकले कम्तिमा एक साता लकडाउन लम्व्याउने निर्णय गर्ने एक मन्त्रीले बताएका छन् । पछिल्लो पटक थपिएको लकडाउन भोली (जेठ ५ गते) सकिदैछ । तर, नेपालमा कोरोेना संक्रमितको सङ्ख्या समेत बढ्दै गएकाले लकडाउनको समय थप्दै अझ कडाइका साथ लागु गर्नुपर्नेमा सरकारी अधिकारीहरु पुगेको श्रोतको दावी छ ।

त्यसैगरी आज २ बजे नै कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक पनि बस्दैछ ।

राजधानीसहित देशका विभिन्न स्थानमा कोरोना भाइरसको परीक्षणको दायरा बढाएसँगै संक्रमितहरुको संख्या पनि बढ्दै गएको छ । आइतबार बिहानसम्म नेपालमा २९१ जना संक्रमित भेटिएका छन् भने एक महिलाको कोरोना संक्रमणबाटै मृत्यु भैसकेको छ ।

सरकारले हालै गरेको जनस्वास्थ्यविद्हरुको बैठकमा अधिकांश चिकित्सिकहरुले लकडाउन र स्वास्थ्य परिक्षणको दायरा बढाउदै लैजान सरकारलाई सुझाव दिएका थिए ।