सेनाका पृतनापतिलाई नै कोरोना संक्रमण भएपछि ब्यारेक सिल गरियो

काठमाडौं– महोत्तरीको सदरमुकाम जलेश्वरस्थित मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण पुष्टि भएएपछि ब्यारेकलाई पूर्णरुपमा सिल गरिएको छ । पृतनापति र व्यारेकका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि करिब २ हजार सेना रहेको ब्यारेकलाई पूर्ण रुपमा सिल गरिएको हो ।

उक्त व्यारेकमा गण, गुल्म, सिग्नल गण, मेडिकल गण, विद्यालय गण लगायतमा कूल २ हजार संख्यामा सेनाहरु तैनाथ छन् । ब्यारेकमा कार्यरत सेनाका जवानहरूमा संक्रमण बढ्न नदिन उनीहरुलाई आवतजावतमा समेत रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले उनीहरुलाई सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले संक्रमित पृतनापति र चिकित्सक दुवैलाई उपचारका लागि सेनाकै गाडीमा काठमाडौँ पठाइएको बताए । उनीहरुको उपचार काठमाडौँस्थित सशस्त्र प्रहरीको आइसोलेशनमा भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी खत्रीले भने– ‘दुवै संक्रमित प्रदेश नम्बर २ का विभिन्न स्थानमा गएर स्वाब संकलन कार्यमा संलग्न थिए । त्यहाँ नै उनीहरुलाई संक्रमण भएको हुनुपर्छ ।’