कोरोना संक्रमित अत्याधिक बढेसँगै ब्राजिलको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’

साओ पाउलो– नोभेल कोरोना भाइरसका संक्रमित बढेसँगै ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोको स्वास्थ्य प्रणाली ‘कोल्याप्स’ स्थितिमा पुगेको बताइएको छ । साओ पाउलोका मेयर ब्रुनो कोवासले स्वास्थ्य सेवाले धान्‍न नसक्ने गरी माग बढेकाले समस्या उत्पन्‍न भएको बताएका छन् ।

कोरोना भाइरसको महामारी पछिल्ला दिनमा लागातार बढिरहँदा अस्पतालहरुमा आपतकालीन बेडहरुको माग अधिक भएको र यही क्रम जारी रहे स्वास्थ्य सेवा प्रणाली चाँडै ‘कोल्याप्स’ हुने मेयर ब्रुनो कोवासले बताए ।

अहिले सहरका अस्पतालहरु ९० प्रतिशतभन्दा बढी बेड प्रयोग भएको र यस्तै अवस्था रहे अबको दुई हप्ताभित्र माग धान्‍न नसक्ने स्थितिमा पुग्‍ने उनको चेतावनी छ । कोरोना भाइरसका कारण ब्राजिलमा सबैभन्दा बढी प्रभावित भएको सहरमध्ये पर्छ साओ पाउलो, जहाँ अहिलेसम्म झण्डै तीन हजार मानिसको मृत्यु भइसकेको छ ।

ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका कारण १६ हजार ११८ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या ब्राजिलमा दुई लाख ४१ हजार ८० रहेको छ ।

ब्राजिलका स्वास्थ्य विज्ञहरुले भने संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएभन्दा धेरै हुनसक्ने बताएका छन् । पर्याप्त मात्रामा परीक्षण नभएकाले संक्रमितको संख्या बढी भए पनि थाहा नभएको हुनसक्ने बताइएको छ ।

राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरस महामारीलाई गम्भीर रुपमा लिएका छैनन् । उनले लकडाउन आवश्यक नरहेको र कोरोना भाइरस सामान्य फ्लूजस्तै रहेको बताउने गरेका छन् । सोही कारण ब्राजिल भित्रै र अन्तर्राष्ट्रिय तहमा पनि उनको आलोचना भइरहेको छ ।

यसअघि उनले कोरोना भाइरसका लागि लकडाउन जारी गर्नु भनेको असफलताको मार्गतर्फ मुलुक लैजानु भएको बताएका थिए । आइतबार राजधानीमा आफ्ना समर्थक र बालबालिकासँग तस्बिर खिचाउने क्रममा सामाजिक दूरी कायम गर्न भनि गरिएको आग्रह उनले अस्वीकार गरेका थिए । बीबीसी