भरतबाट ७५८ नेपाली भित्रिए

लम्की– नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । कैलाली र कञ्चनपुरका सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा पठाइएको तथा डोटीका १२ र बझाङका चार जना धनगढीस्थित क्वारेन्टिनमा राखिएका छन् । उनीहरु यही जेठ २ र ३ गते नेपाल भित्रिएका हुन् ।
सीमाबाट आउनेलाई गौरीफण्टामा स्वास्थ्य परीक्षणपछि मात्रै स्थानीय पालिकामा पठाउन थालिएको छ । यसअघि भारतमा क्वारेन्टिनमा राखिएका नेपालीलाई भारतले भारतीय सीमासम्म पु¥याउने व्यवस्था गरेको छ भने नेपालका क्वारेन्टिनमा रहेका भारतीयलाई भारत फर्काउन थालिएको छ ।

नेपाल भारत सीमामा दर्जनौंँ नाका भए पनि हाल धनगढी मात्र खुला रहेको छ । धनगढी त्रिनगर भन्सारपछिको दैनिक हजारौंँ मानिस ओहोरदोहोर हुने नाका खक्रौला थियो । लकडाउन लम्बिँदै जाँदा खक्रौला नाका पनि बन्द छ । नाका बन्द भएपछि खक्रौला भएर नेपाल आउन चाहने मानिसलाई पनि धनगढी भएर आउनू भन्ने गरिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिए ।

बन्दाबन्दीका बेला दुईदेशीय सीमामा एकार्काका नागरिकलाई आदानप्रदान गर्न जिल्लामा एउटै नाका मात्र रहेकाले केही दिनअघि टीकापुरमा क्वारेन्टिनमा रहेका भारतीयलाई टीकापुरबाट धनगढी पु¥याइएको थियो भने पलिया क्वारेन्टिनमा रहेका नेपालीलाई भारतीय अधिकारीले गौरीफन्टामा ल्याई बुझाएका थिए ।

१६ नेपाली अलपत्र

अहिले भारतबाट नेपाल आएका नेपालीले पलिया हुँदै गौरीफण्टाबाट मात्रै नेपाल पस्न पाउने व्यवस्था छ । लामो समय लकडाउन भएपछि भारतमा काम गर्न नपाउँदा समस्या परेका नेपाली लुकिछिपी भए पनि नेपाल प्रवेश गर्न खोजेका छन् । सोमबार यसरी नेपाल प्रवेशको माग गरिरहेका १६ नेपाली भजनी सीमामा अलपत्र रहेका स्रोतले बताएको छ । उनीहरुलाई सीमापारि क्वारेन्टिनमा राख्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

भारतबाट लुकिछिपी नेपाल आउने क्रम बढेपछि सीमा क्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । लुकिछिपी नेपाल भित्रिँदा सङ्क्रमणको जोखिम बढेपछि सीमामा कडाइ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।