भारतमा कोरोना भाइरसबाट ३ हजार ७२०को मृत्यु, १ लाख २५ हजार बढी संक्रमित

नयाँ दिल्ली । भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार १०१ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शनिबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ७२० जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५१ हजार ७८४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६९ हजार ५९७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन् । यहाँमात्र ४४ हजार ५८२ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् ।

महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १४ हजार ७५३ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १३ हजार २६८ संक्रमति रहेका छन् । दिल्लीमा १२ हजार ३१९ जना कोरोना संक्रमित रहेका छन् ।

भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो ।

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ । भारतमा पहिलो चरणको लकडाउन गत २४ मार्चमा लगाइएको थियो । दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो ।

भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको थियो ।

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो ।

भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ । यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही खुकुलो गरिएको छ ।

भारतमा २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित

भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएअनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख २५ हजार १०१ पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १३७ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ७२० जनाको मृत्यु भएको पनि अधिकारीहरूले जनाएका छन् । एजेन्सी