आज मात्रै ६८ जना नयाँ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौं । आज मात्रै  ६८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ ।

शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए ।

यस्तै पत्रकार सम्मेलनअघि बिहान मन्त्रालयले विज्ञप्तिमार्फत ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

कहाँकहाँ थपिए कोरोना संक्रमित ?

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीको शिवनाथ गाउँपालिकाका ४ जना रहेका छन् । उनीहरुमध्ये २० वर्षका दुई जना, २२ वर्षका र २७ वर्षका १-१ जना रहेका छन् ।

यसैगरी कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका डिल्लीराज मावि क्वारेन्टाइनमा रहेका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परीक्षणमा नरैनापुर मदरसाका ६ जना रहेका छन् । उनीहरु १७ देखि ३२ वर्ष उमेरसम्मका पुरुष रहेका छन् ।

त्यसैगरी नरैनापुर ३ को क्वारेन्टाइनमा बस्दै आएका १५ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले जानकारी दिए । उनीहरु १६ देखि ३२ वर्ष उमेरका पुरुष हुन् । नरैनापुर १ को क्वारेन्टाइनमा बसेका ६ जनामा पनि कोरोना पोजेटिभ पुष्टि भएको देवकोटाले बताए । ती संक्रमित २२ देखि ५० वर्ष उमेर समुहका पुरुष रहेका छन् ।

त्यसैगरी बर्दियाका १९ वर्षीय पुरुष तथा सुर्खेतका ३ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको देवकोटाले बताए ।

शनिबार बिहान थप ३२ जना संक्रमित भने कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनका रहेका छन् ।

मन्त्रालयका अनुसार कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १७, १९, २२, २९, ३५, ४० र ४२ वर्षीय पुरुष रहेका छन् भने २७ वर्षीया महिला रहेकी छन् ।

यसैगरी सर्लाहीको गडैतामा थप १३ जना पुष्टि भएको छ । जसमा १८, २०, २०, २०, २१, २२, २३, २८, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेका छन् ।

यसैगरी बाराको करैयामाईमा ३७ वर्षीय महिला तथा काठमाडौंमा ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो।

यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको गैडहवा र रोहिणी गाउँपालिकामा ८ जनामा कोरोना पुष्टि भएके छ । जसमा २०, २०, २४, २४, २४, २७, ३०, ३० र ५५ वर्षीय पुरुष रहेका छन् । यस्तै भरतपुर प्रयोगशालामा गरिएकोे परीक्षण्मा पनि चितवनको भरतपुर ६ का ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

हालसम्म कोरोना संक्रमण पुष्टि भएका ७० जना निको भएका छन् भने ३ जनाको मृत्यु समेत भएको छ ।