कोरोना भाइरसबाट विश्वमा पाँच लाख ५७ हजार भन्दा बढीको मृत्यु, भारतमा एकै दिन २६ हजार बढी संक्रमित

जेनेभा स्वीट्जरल्याण्ड – कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५७ हजार ९२३ पुगेको छ ।

साथै यस सङ्क्रमणबाट विश्वभर एक करोड २४ लाख १५ हजार ५८२ जना सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार शुक्रबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७२ लाख ४१ हजार ६०१ जना निको भएका छन्.।

हाल विश्वभरमा कोरोना भाइरस सङ्क्रमित करिब ४६ लाख १६ हजार ५८ व्यक्ति उपचाररत रहेका छन् । सङ्क्रमितहरुमा ५८ हजार ६८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३२ लाख २० हजार ५०० जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ३५ हजार ८२८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २७ लाख ३३ हजार ३०५ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ४०६ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ३७ लाख ७५ हजार ४५२ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । यहाँ एक लाख ८२ हजार २५९जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख ४० हजार २८९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ९५ हजार ६६५ को मृत्यु भएको छ ।

एसिया २८ लाख नौ हजार ४६३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने, ६६ हजार ९१७ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा पाँच लाख ४५ हजार ३१३ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२ हजार ५०३ जनाको मृत्यु भएको छ ।

ओसियानामा ११ हजार ३० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।

भारतमा एकैदिनमा अहिलेसम्मकै धेरै २६ हजार कोरोना संक्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सवैभन्दा धेरै पनि हो ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जनाएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८०२ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भारतमा अहिले पनि दुई लाख ७६ हजार ६८५ जना संक्रमित अवस्थामै रहेका छन् भने चार लाख ९५ हजार ५१३ जना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी भारतमा कोरोनाकै कारण मृत्यु भएकाहरुको संख्या अहिलेसम्म २१ हजार ६०४ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र प्रदेशमा दुई लाख ३० हजार ५९९ जना संक्रमित भएका छन् ।

त्यसैगरी तमिलनाडुमा एक लाख २६ हजार ५८१ जना र दिल्ली प्रदेशमा एक लाख सात हजार ५१ जना संक्रमित भएका छन् ।

कोरोनाबाट ब्राजिलमा करिब ७० हजारको मृत्यु

विश्वमा महामरीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ ।

गत २४ घण्टामा कोभिड १९ को संक्रमणको कारण एक हजार २२० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६९ हजार १८४ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार १६९ जना नयाँ सङ्क्रमित थपिएपछि ब्राजिलमा कुल सङ्क्रमित संख्या १७ लाख ५५ हजार ७७९ पुगेको छ ।

ब्राजिलमा गत तीन दिनयता एक दिनमा १२ सय भन्दा बढीको मृत्यु र ४० हजार भन्दा बढी सङ्क्रमित हँुदै आएको छ । एजेन्सी