विपन्न आवास कार्यक्रमले सन्थाल समुदायको मुहारमा खुसीयाली

सुरुङ्गा– हरेक वर्ष वर्षात्को समयमा सास्ती झेल्दै आएका झापा गाउँपालिकाका विपन्न सन्थाल परिवारले बल्ल सुखको अनुभूति गरेका छन् । मुलुक सङ्घीयतामा गएसँगै स्थानीय तहले विकासमा फड्को मारेसँगै विपन्न परिवारका लागि आवास कार्यक्रम सञ्चालन गर्दै विपन्न परिवारलाई घर निर्माण गरेसँगै झापाका सन्थाल समुदायले सुखको अनुभूति गरेका छन् ।

विशेष गरी झापा गाउँपालिकामा सन्थाल समुदायसहित अतिविपन्न परिवारलाई विपन्न आवास कार्यक्रममार्फत एक÷एक वटा घर निर्माण गर्दै आजआर्जनका क्षेत्रमा गाउँपालिकाले सहयोग पु¥याएसँगै त्यस क्षेत्रका स्थानीय बासिन्दा हर्षित बनेका हुन् ।

ह्याविट्याड फर ह्युमानेटी नेपाल र गाउँपालिकाको आर्थिक सहयोग तथा साहारा नेपाल (साकोस)को प्राविधिक सहयोगमा गाउँपालिकाका विपन्न परिवारलाई घर निर्माण गरेसँगै उनीहरुले अरु वर्षजस्तो यो वर्ष वर्षात्को समयमा सास्ती झेल्नु नपरेपछि विपन्न परिवारले सुखको अनुभूति गरेका हुन् ।

असार साउनको चुहिँदो झरी, कनकाइ र विरिङको उर्लदो भेल बस्तीमा पस्ने चिन्ता एकातिर, अर्कातिर सामान्य पानी पर्दासमेत ओत लाग्ने अवस्था नभएका परिवारलाई ह्याविट्याड फर ह्युमानेटी नेपालको ७५ हजारसहित झापा गाउँपालिकाको ७५ हजार र घर धनीको जनश्रमदान तथा सहाराको प्राविधिक टोलीले चिटिक्क परेको बरण्डासहितको दुईकोठे घर निर्माण गरेसँगै त्यस क्षेत्रका विपन्न समुदाय अहिले दङ्ग छन् ।

झापा गाउँपालिका– १ लसुनाका वीरेन्द्र बेस्राले आफूले यस्तो घरमा बस्न पाउने कल्पनासम्म नगरेको बताए । उनले भने, “गरिबका पनि दिन आउँछन् भन्ने सुनेको थिए आज आफैँले देख्न पाए ।” विगत सम्झँदै बेस्राले भने, “हरेक वर्ष पानी आउँदा ठूलो सास्ती झेल्नुपथ्र्यो, भात पकाएर खानसक्ने अवस्था हुँदैन थियो, भुइँ चिसिएकाले आगो नबल्दा भोकै बस्नुपरेको अवस्था पनि छ । घरभित्र पानी पसेर घुँडाघुँडा हुन्थ्यो । अहिले त्यो समस्या हटेर गयो । न पानी चुहिन्छ, न घरमा चिसो नै उठ्छ ।”

बेस्रा मात्र होइन झापा– १ लसुनाका टिङ्कु मरान्डे पनि अहिले औधि खुशी हुनुहुन्छ । वर्षौंदेखि फुसको छानो र बाँसको टाटीमा माटोले लिपेर बसे पनि सामान्य पानी पर्दा मात्रै माटो झरेस बसिनसक्नुहुन्थ्यो मरान्डेले भने, “म मात्र होइन यहाँका सबैको समस्या उस्तै थियो तर अहिले गाउँपालिकाले नयाँ घर बनाइदिएपछि यो समस्या हटेर गएको छ ।”

दिनभरि जनमजदूर गरेर आउँदा पहिला खाने बस्नेको ठेगान हुँदैन थियो मरान्डेले भने, “अहिले नयाँ घरमा बस्न पाउँदा मज्जाले निद्रा लाग्छ कुनै समस्या छैन ।” साहाराको अगुवाइमा भुइँ ढलान, पिल्लर, उपचार गरेर बलियो बनाएको बाँस र जस्तापात प्रयोग गर्दै घर निर्माण गरिएको छ । त्यही घरमा सुखले झापा गाउँपालिकाका अतिविपन्न परिवार वर्षात्को चुहिँदो झरीमा पनि खुशीले बसेका छन् ।

गाउँपालिकाले लसुनामा मात्र होइन सबै वडाका अतिविपन्न परिवारलाई विपन्न आवास कार्यक्रममार्फत २३७ घर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । ‘फुस हटाउ टिन लगाउ’ कार्यक्रम झापा गाउँपालिकाले सञ्चालन गरेको छ अध्यक्ष साहले भने, “आगामी आव २०७७÷७८ का लागि पनि गाउँपालिकले ९० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सङ्घीय र प्रदेश सरकार तथा स्थानीय सङ्घसंस्थासँगको साझेदारीमा यहाँका विपन्न परिवारलाई घर निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिन्छौँ ।”

विपन्न परिवारका लागि प्रतिघर निर्माण गर्न एक लाख ५० हजार रुपैयाँ छुट्याइएको र त्यसले पनि राम्रो घर निर्माण गरिएको अध्यक्ष साहको भनाइ छ । आगामी आव २५० देखि ३०० घर गाउँपालिकाले बनाउने लक्ष्य राखेको अध्यक्ष साहको भनाइ छ । “अब झापाका सबै नागरिक टिनकै घरमा बस्नुपर्छ भन्ने मान्यता हामीले राखेका छौँ यहाँका कोही पनि विपन्न परिवारलाई हामी फुसको घरमा बस्न दिँदैनौँ”, अध्यक्ष साहले भने, “हाम्रो अभियानमा साहारा नेपाल र ह्याविट्याड फर ह्युमानेटीले पनि सहयोग पु¥याएको हुँदा सहयोगी संस्थाप्रति गाउँपालिका धन्यवाद ज्ञापन गर्दछ ।”

गाउँमा रातो रङ्गका एकैखाले घर निर्माण, वडा नै पिच्छे कालोपत्र सडक, घरघरमा विद्युत् सेवा पुगेसँगै झापाको मुहार फेरिएको बताउँछन् गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौला । अहिले स्थानीय तहले झापाका सबैजसो पालिकामा यसखाले कार्यक्रम सञ्चालन गरेका छन् । प्रदेश सरकार गठन हुनुअघि शहरी विकास मन्त्रालयले सञ्चालन गर्दै आएको कार्यक्रम अहिले प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय गर्दै आएको छ । स्थानीय तहले बनाइदिने घरको लागत एक लाख ५० हजार रुपैयाँ र प्रदेश सरकारले बनाइदिने घरको लागत तीन लाख ५० हजार रुपैयाँ रहेको छ ।

झापामा एकीकृत सन्थाल बस्ती निर्माण कार्य अन्तिम चरणमा

झापा गाउँपालिका– २ मा एकीकृत सन्थाल बस्ती निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लामै पहिलो पटक सन्थाल समुदायका लागि गाउँपालिकाले सन्थाल बस्ती निर्माण कार्य अघि बढाएको हो । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ । छुट्टै पहिचान बोकेको यो समुदायलाई संरक्षणका लागि जिल्लामै पहिलोपटक गाउँपालिकाले सङ्घीय सरकारसँग समन्वय गर्दै सन्थाल बस्ती निर्माणको काम शुरु गरेको गाउँपालिकाकी उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले बताए ।

उनले भने, “सङ्घीय सांसद एलपी सावाले सन्थाल बस्ती विकासका लागि तराई– मधेश समृद्धि कार्यक्रममार्फत रकम प्रदान गरेपछि गाउँपालिका– २ मा २० वटा नमूना घर निर्माण गरिएको हो । अहिले सन्थाल समुदायका विपन्न नागरिक छनोट गर्ने कार्यक्रम भइरहेको छ उपाध्यक्ष बुढाथोकीले भने ।

रु ९२ लाखको लागतमा निर्माण गरिएको एकीकृत सन्थाल बस्तीमा उनीहरुको रहनसहन झल्कने गरी संस्कार संस्कृति संरक्षण गर्दै आन्तरिक तथा वाह्रय पर्यटक भित्र्याउने गाउँपालिकाको लक्ष्य रहेको झापा गाउँपालिका अध्यक्ष साहले बताए ।

तराई–मधेश समृद्धि कार्यक्रममार्फत गाउँपालिकाले एकीकृत सन्थाल बस्ती निर्माण कार्य अघि बढाएको र अतिविपन्न सन्थाल समुदायका २० परिवारलाई राखिने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । जसका लागि २० घर निर्माण भइसकेका छन् भने खानेपानीको व्यवस्थापनका लागि गाउँपालिकाले आवश्यक पहल गरिरहेको र असारभित्रै अतिविपन्न परिवार छनोट गरी बस्ती बसाल्ने गाउँपालिकाले जनाएको छ ।

सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै पहिचान बोकेको जातिका रुपमा सन्थाललाई लिने गरिएको छ । सन्थाल बस्तीभित्र गाउँपालिकाले नै सामुदायिक भवन, सन्थाल समुदायको धर्म संस्कृति, वेषभूषा, साहित्य, भाषा, लिपिका लागि छुट्टाछुट्टै आवश्यकताअनुसारका घर निर्माण गर्ने तयारी गरिरहेको छ ।