आज ११६ जना कोरोना सङ्क्रमित थपिए, ३४ डिस्चार्ज

काठमाडौँ– पछिल्लो २४ घन्टामा नेपालमा कुल ११६ कोरोना सङ्क्रमित थपिएका छन् । मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको चार हजार ३६१ नमूना परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ सङ्क्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख छ, पाल्पा र दाङ र कैलालीमा पाँच÷पाँच, जुम्लामा चार, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा तीन÷तीन, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा, काठमाडौँ र नवलपरासी पूर्वमा दुई÷दुई सङ्क्रमित फेला परेका छन् ।

यसैगरी सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा एक÷एक जना सङ्क्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । आज देखिएकासँगै कुल सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा ३४ जना कोरोना जितेर घर फर्केका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार ३२८ रहेका छन् । कुल सङ्क्रमितको ६०.५३ प्रतिशत डिस्चार्ज भएको उनले जानकारी दिए ।