राखेप सदस्य–सचिव पदका लागि २७ जनाको निवेदन

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य–सचिव पदका लागि २७ जनाले आवेदन दिएका छन् ।

राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसँगै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट सदस्य सचिव छनोट हुन लागिएकोमा सो पदका लागि २७ जनाले आवेदन दिएको राखेपले जनाएको छ ।

नयाँ खेलकुद ऐन कार्यान्वयनमा आएपछि तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवाल स्वतः पदमुक्त भएका थिए । त्यही रिक्त रहेको पद पुनःस्थापना गर्नका लागि युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र इन्दिरा निरौलासहितको तीन सदस्यीय छनोट समिति गठन गरिएको थियो । सो समितिले एक साताका लागि समय दिएर दरखास्त आह्वान गरेकोमा आज दरखास्त दिने समय सकिएको हो ।

सदस्य–सचिवमा आवेदन दिनेमा निवर्तमान सदस्य–सचिव रमेशकुमार सिलवालसहित ललितपुरका रोशन महर्जन, भरतपुरका अनिल अधिकारी, सोलुखुम्बुका हर्कबहादुर राई, सुनसरीकी मिना श्रेष्ठ, डडेलधुराका शिवराज भट्ट र बाग्लुङका लिलबहादुर थापा मगर छन् ।

त्यसैगरी काठमाडौँका रवि राजकर्णिकार, काठमाडौँकै अचुतम लामिछाने, ललितपुरकी निलमसिंह बज्राचार्य, झापाका मेघराज पौडेल, काठमाडौँका रामेश्वर श्रेष्ठ, ललितपुरका अच्युत खनाल, पोखराका मनबहादुर गुरुङ, मोरङका विजयकुमार राइ, काठमाडौँका सानुराजा केसी र किशोर शाही छन् ।

ललितपुरका अञ्जु श्रेष्ठ, सुदिल शाही, काठमाडौँका रमेशमान डंगोल, ध्रुवराज न्यौपाने, बाजुराका खेमराज अधिकारी, काठमाडौँका राम पुडासैनी, ललितपुरका सुनिल नकर्मी, काठमाडौँका रणबहादुर चन्द, मकवानपुरका दीपेन्द्र ढकाल र कास्कीका तेजबहादुर गुरुङले सदस्य–सचिव पदका लागि निवेदन दिएको राखेपले जनाएको छ ।