ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित

सानफ्रान्सिस्को– विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका विषयमा अनुसन्धान शुरु गरेको जनाएको छ । चर्चित व्यक्तित्व इलोन मस्कदेखि अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेनसम्मका अकाउन्ट ह्याक भएका थिए ।

ट्वीटरका अनुसार ह्याकरहरुले ट्वीटरका कर्मचारीका अकाउन्ट ह्याक गरी आन्तरिक प्रणालीमा पहुँच हासिल गर्ने प्रयास गरेका थिए ।

साथै एप्पल, उबर, केन्ये वेस्ट, बिल गेट्स, बाराक ओबामा र अरु धेरै विशिष्ट व्यक्तिका आधिकारिक अकाउन्टबाट बिट्क्वाइन नामको क्रिप्टोकरेन्सी सम्बन्धी जानकारी ट्वीट गरिएको थियो ।

ट्वीटरले भनेको छ, “केही व्यक्तिले हाम्रा कर्मचारीका अकाउन्ट ह्याक गरी ट्वीटरको आन्तरिक प्रणालीमा पहुँच हासिल गरेका र यो संगठित सामाजिक इन्जिनियरिङ आक्रमण हो भन्ने हामीले विश्वास लिएका छौं ।”

आक्रमणकारीले उच्चपदस्थ र सामाजिक रुपमा सुपरिचित व्यक्तिका अकाउन्ट ह्याक गरेर पहुँच बनाउन खोजेको ट्वीटरको भनाई छ । ह्याकरले अरु के कस्ता बदमासी गरेका छन् वा सूचनामा के कस्तो पहुँच कायम गरेका छन् भन्ने बारेमा हामी खोजी गरिरहेका छौं, ट्वीटरले भनेको छ ।

ह्याक गरिएका व्यक्तिका अकाउन्टबाट बिट्क्वाइनको कारोबार गर्दा दोब्बर फाइदा पुग्ने जस्ता सन्देशहरु प्रवाह भएका थिए । ३० मिनेटभित्र १,००० डलरको एउटा बिट्क्वाइन खरिद गरे दोब्बर रकम पाइने भन्दै अरु मानिसलाई इमेल समेत पठाइएका थिए ।

ट्वीटरका प्रमुख कार्यकारी ज्याक डोर्सेले एक ट्वीट गर्दै ट्वीटरमा यो दिन निकै कठिनाइपूर्ण रहेको बताएका छन् । उनले यस घटनाका बारेमा तथ्यहरुको जाँच गरिसकेपछि सम्पूर्ण विवरण सार्वजनिक गरिने पनि जानकारी गराएका छन् ।

अमेरिकी राष्ट्रपतिका उम्मेदवार जो बाइडेनको चुनावी अभियानले ह्याक भएको बाइडेनको अकाउन्ट बन्द गरेको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको खाता भने ह्याक गरिएको छैन । उनका करिब आठ करोड ३० लाख फलोअर्स छन् ।

अमेरिकी सञ्चारमाध्यम भाइसले ट्वीटरका कर्मचारीकै लापरवाहीका कारण ह्याकरहरु ट्वीटरको आन्तरिक प्रणालीमा प्रवेश गरेको बताएको छ । ह्याकिङमा संलग्न रहेको दाबी गर्ने एक व्यक्तिले आफूहरुले ट्वीटरका कर्मचारीलाई रकम दिएको बताएका छन् ।

साइबर–सुरक्षासँग सम्बन्धित कार्य गर्ने सोसलप्रुफसेक्युरिटीले पनि ट्वीटरका कर्मचारीको प्रशासनिक पहुँचलाई ह्याकरले प्रयोग गरेको बताएको छ ।

यसैबीच, बिट–टोरेन्टका कार्यकारी प्रमुख जस्टिन सनलाई ट्वीटरका ह्याकरलाई कानुनी कठघरामा ल्याए १० लाख अमेरिकी डलर पुरस्कार दिइने प्रस्ताव गरिएको खबर सार्वजनिक भएको छ ।

ट्वीटरमाथि विगतमा पनि ह्याकरहरुले आक्रमणको प्रयास गरेका थिए ।

मार्च २०१७ मा एम्नेस्टी इन्टरनेसनल, फ्रान्सेली अर्थ मन्त्रालय र बिबिसीको उत्तर अमेरिकी सेवाका अकाउन्टहरु ह्याक गरिएका थिए । यी ह्याकरहरु टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानका समर्थक रहेको विश्वास गरिएको थियो ।

गत अगस्टमा पनि ट्वीटरका संस्थापक डोर्सेको निजी अकाउन्टबाट उनको जानकारी बेगर नै गलत एवं भ्रामक सन्देशहरु शृंखलाबद्ध रुपमा प्रवाहित भएका थिए । एजेन्सी