भारतमा एकै दिनमा ३२ हजार ५०० भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली– भारतमा एकैदिनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको संख्या ३२ हजार ६९५ पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा ३२ हजार ६९५ सङ्क्रमित भएको जनाएको छ । मन्त्रालयका अनुसार योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ९ लाख ६८ हजार ८७६ पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

त्यसैगरी भारतमा गत २४ घण्टामा कोरोनाका कारण ६०६ जनाको मृत्यु भएपछि कोभिड १९ बाट मृत्यु हुनेका संख्या २४ हजार ९१५ पुगेको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या ३ लाख ३१ हजार १४६ रहेको छ भने छ लाख १२ हजार ८१५ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

भारतमा महाराष्ट्र राज्य अत्यन्त प्रभावित भएको छ । यहाँ सङ्क्रमितको संख्या २ लाख ७५ हजार ६४० पुगेको छ । तीमध्ये १० हजार ९२८ जनाको मृत्यु भइसकेको छ ।

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको तमिलनाडु राज्यमा १ लाख ५१ हजार ८२० सङ्क्रमित हुँदा २ हजार १६७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय राजधानी समेत रहेको दिल्ली राज्यमा पनि १ लाख १६ हजार ९९३ जना सङ्क्रमित भएका छन् भने ३ हजार ४८७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।