विश्वभर कोभिड–१९ सङ्क्रमित छ लाखभन्दा बढीको मृत्यु

पेरिस– विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाहरुको सङ्ख्या छ लाख नाघेको छ ।

अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबारसम्म विश्वभरी मृतकको सङ्ख्या छ लाख ५२३ पुगेको छ ।

त्यसैगरी विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या एक करोड ४२ लाख ३३ हजार ३५५ रहेको छ ।

मृतकमध्ये दुई लाख पाँच हजार ६५ जना युरोपेली मुलुकका रहेका छन् । युरोपेली देशहरु कोरोनाभाइरसबाट धेरै प्रभावित भएका देशहरुमा पर्दछन् ।

त्यसैगरी दोस्रो धेरै प्रभावित क्षेत्र ल्याटिन अमेरिका हो । त्यस क्षेत्रमा पनि कोरोनाका कारण अहिलेसम्म एक लाख ६० हजार ७२६ जनाको मृत्यु भएको छ ।

देशअनुसार हेर्दा सवैभन्दा धेरै मानवीय क्षति अमेरिकामा भएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा मात्रै एक लाख ४० हजार १०३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो धेरै मानवीय क्षति ब्यहोरेको ब्राजिलमा ७८ हजार ७७२ जनाको मृत्यु भएको छ भने तेस्रो धेरै मानिसको मृत्यु भएको बेलायतमा ४५ हजार २७३, मेक्सिकोमा ३८ हजार ८८८ र इटलीमा ३५ हजार ४२ जनाले जीवन गुमाएका छन् ।

अमेरिकामा सङ्क्रमितको सङ्ख्या ३७ लाख छ हजार ९२७ पुगेको छ भने ब्राजिलमा पछिल्लो २४ घण्टामा ९२१ जना सङ्क्रमित थपिएका छन् । एजेन्सी