नेपालका ८ वटा जिल्ला कोभिड– १९ मुक्त

काठमाडौँ– नेपालमा कोरोना भाईरसको संक्रमणबाट ८ वटा जिल्लाहरु मुक्त भएका छन् । यसरी संक्रमण मुक्त हुने जिल्लाहरुमा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् ।

कोभिड– १९ को सङ्क्रमण आज १५६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण गर्दा १५६ जनामा सङ्क्रमण देखिएको बताए ।

आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ६५८ जना रहेका छन् । नयाँ देखिएका सङ्क्रमित सप्तरीका ३२, सर्लाही २५, कैलाली २४, नवलपरासी र बर्दिया १०÷१० जना, पर्सा सात, कास्की, म्याग्दी र लमजुङ छ÷छ जना, बाँके र दाङमा पाँच÷पाँच जना रहेका छन् । यस्तै ललितपुर, रौतहट, स्याङ्जा, रुपन्हेदी, डडेल्धुरामा दुई÷दुई जना र सुनसरी, सिरहा, बारा, काठमाडौँ, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्यूठान, सल्यानमा एक÷एक जना सङ्क्रमित रहेका छन् ।

उनका अनुसार आज कोभिड– १९ जितेर घर फर्कनेको सङ्ख्या ५८ जना रहेको छ । योसँगै ११ हजार ६९५ जना सङ्क्रमण जितेर घर फर्किएका छन् । यो ६६.२४ प्रतिशत रहेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आठ जिल्ला कोरोनामुक्त भएका छन् ।

यसैगरी नेपाल दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलङ्कादेशभन्दा पिसिआर परीक्षण धेरै गरेको छ । नेपालले प्रति १० लाखमा १० हजार ८२७ जनाको पिसिआर परीक्षण गरेको छ । अहिलेसम्म नेपालमा प्रति १० लाखमा १.४ प्रतिशत मात्र मृत्युदर रहेको छ । नेपालमा हालसम्म ४० जनाको कोभिड– १९ बाट मृत्यु भएको छ ।