गायिका मन्जु पौडेल र मीना निरौलाको ‘तिजैमा’

काठमाडौं । तिज नजिकिँदै गर्दा बजारमा तिजका गीतसंगीत पनि सार्वजनिक हुने क्रम बढिरहेको छ । हिन्दू नारीहरु आफ्नो मनको पीडा पोख्ने चाडका रुपमा तिजलाई लिने गर्छन् । वर्षदिनभरि जति दुःख भए पनि तिजको एक दिन नाचेर, हाँसेर भए पनि आफ्नो मनलाई खुशी बनाउने गर्छन् चेलीबेटीहरु । यस्तै विषयमा आधारित रहेर गायिका मन्जु पौडेल र गायिका मीना निरौलाले तिज गीत ‘तिजैमा’ आजबाट सार्वजनिक गरेका छन् ।

गत वर्षहरुभन्दा अलि फरक तरिकाले प्रस्तुत भएका छन् यी जोडी । गीतलाई मौलिकतासँगै आधुनिकतामा पनि बदलेका छन् । बजारमा आइरहेका गीतहरुभन्दा फरक रुपमा पस्किएका छन् गीतलाई । गायिका मन्जु पौडेलको संगीत एवं दिग्गज द्यौरालीको शब्द रहेको यस गीतलाई निरज श्रेष्ठले संगीत संयोजन गरेका छन् । गीतलाई लोक आधुनिक शैलीमा प्रस्तुत गरिएको छ ।

तिजैमा गीतको भिडियोलाई भने दुर्गा पौडेलले छायाँकन तथा निर्देशन गरेका छन् । नवीन घर्तीमगरको सम्पादन रहेको यस भिडियोमा गायिका मीना निरौला, मञ्जु पौडेलको साथमा इन्दु, रश्मी र भावनाको फिचर्ड रहेको छ । भिडियोलाई बीएमएस फिल्म्सुबाट सार्वजनिक गरिएको छ ।