लमजुङमा पहिरोबाट एकै गाउँका १८ घर बगायो, आठजना घाइते

लमजुङ– लमजुङमा बुधबार आएको पहिरोमा परि मर्स्याङ्दी गाउँपालिका वडा नम्बर–३, पल्लोटारीमा १८ घर बगाएको छ । पहिरो आएपछि भाग्दा भाग्दै आठजना घाइते भएका छन् ।

घाइतेमध्ये दुईजनाको बेसीसहरस्थित लमजुङ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अरुलाई अस्पताल लैजानुपर्ने अवस्था नरहेको जनाइएको छ ।

बुधबार बिहान पौने १० बजेतिर खसेको पहिरोले १८ घर पूर्णरुपमा बगाएको हो ।

सोही गाउँमा रहेका अरु ६२ घर उच्च जोखिममा रहेका छन् ।

पहिरोका कारण ८० घरका करिब ४०० परिवारलाई अन्यन्त्र स्थानान्तरण गरिएको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले बताउनुभयो ।

मंगलबार सोही स्थानमा पहिरो गएको थियो । पहिरो जोखिमको पूर्वानुमान गर्दै छिमेकी गाउँमा स्थानान्तरण गरिएकाले मानवीय क्षति हुन नपाएको पीडितहरु बताउँछन् ।

पहिरोको उच्च जोखिममा परेकाहरुको स्थानान्तरणमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, जनप्रतिनिधिहरु खटिएका थिए ।

उनीहरुलाई खुला स्थान, विद्यालय, सामुदायिक भवनहरुमा अस्थायीरुपमा स्थानान्तरण गरी खान–बस्न व्यवस्था गरिने गाउँपलिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

पहिरोपीडितहरुलाई जिल्ला विपद् व्यवस्थापन समिति, रेडक्रस, ‘आरसीडीसी’लगायतले राहत सामग्री दिएका छन् ।