भारतमा एकै दिनमा ४५ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित

नयाँदिल्ली– भारतमा सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४५ हजार ७२० जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाको संख्या १२ लाख ३८ हजार ६३५ पुगेको अधिकारीले जनाएका छन् ।

कोरोना भाइरस सङ्क्रमणको कारण एकैदिनमा एक हजार १२९ जनाको मृत्यु भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैसँगै भारतमा कोरोनाकै कारण मृत्यु भएकाको संख्या अहिलेसम्म २९ हजार ८६१ पुगेको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा अहिले पनि चार लाख २६ हजार १६७ जना सङ्क्रमित अवस्थामै रहेका छन् भने सात लाख ८२ हजार ६०६ जना सङ्क्रमणमुक्त भएका छन् ।

कोरोनाबाट भारतमा सवैभन्दा धेरै प्रभावित भएको महाराष्ट्र राज्यमा तीन लाख ३७ हजार ६०७ जना सङ्क्रमित भएका छन् ।

त्यसपछि तमिलनाडुमा एक लाख ८६ हजार ४९२ सङ्क्रमित रहेका छन् । राजधानीसमेत रहेको दिल्ली प्रदेशमा एक लाख २६ हजार ३२३ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । त्यसपछि आन्ध्र प्रदेश, कर्नाटका र तेलङ्गानामा कोरोना भाइरस सङ्क्रमित अरु राज्यको तुलनामा बढी नै रहेको छ । एजेन्सी