इलामको सुपरमाई हाईड्राले आयोजनाको भन्दा अन्य खोलाको पनि पानी लैजाँदा स्थानीयवासीको विजोग

मङ्गलबारे– इलाममा निर्माणाधीन सुपरमाई हाइड्रो परियोजनाल प्रभावित क्षेत्रको वातावरण जोगाउन काम नगरेको जनाउँदै स्थानीयवासी आक्रोशित भएका छन् । खोलामा पानी नै नछोडी परियोजना सञ्चालन गर्ने गरेको र तोकिएभन्दा अन्य खोलाबाट समेत पानी ल्याएर आयोजनामा लगाएको स्थानीयवासीले आरोप लगाएका हुन् ।

माइखोलाको पानीबाट निर्माण भइरहेको परियोजनाले प्रभावित क्षेत्रमा समस्या थपेको भन्दै स्थानीय सङ्गठित भएर आन्दोनमा उत्रिएका हुन् । माइखोलाको पानीबाट निर्माण हुनुपर्ने परियोजनाले अन्य साना खोला र खोल्साबाट समेत पानी मिसाएको स्थानीयवासी जनाएका छन् । बर्खाको समयमा जे–जसो भए पनि हिउँदका दिनमा परियोजनासँग पानी माग्नुपर्ने स्थिति आएको स्थानीय कुशबहादुर थेवेले बताए ।

परियोजनाको मुुख्य पानीको स्रोत माइखोला मात्र हुनुपर्ने स्थानीयवासीको भनाइ छ । तर परियोजनाले स–साना खोला र खोल्साबाट पानी ल्याउन थालेपछि वस्तुभाउलाई खुवाउन र सिँचाइ गर्न पानी नभएको उनीहरूको दाबी छ । माइखोला आसपासबाट बग्ने इङलाखोला र समाहखोलाको पानी प्रयोग गर्न नदिने उनीहरूको भनाइ छ ।

सङ्घर्ष समितिले इङला र समाहखोलाको पानी ल्याउनका लागि बनाइँदै गरेको संरचना तत्काल रोक्न उनीहरूले आग्रह गरेका छन् । प्रभावित क्षेत्रका बासिन्दाले पटकपटक सञ्चालकसँग आफ्ना गुनासा राख्दा पनि कुनै सुनुवाइ नभएपछि सङ्घर्ष समिति निर्माण गरेर आन्दोलनमा उत्रिनुपरेको सङ्घर्ष समितिका संयोजक गोपाल थेवेको भनाइ छ ।

परियोजना सञ्चालन भएपछि मेगावाटअनुसार स्थानीयस्तरमा सामाजिक उत्तरदायित्वको रकम व्यहोर्नुपर्ने प्रावधान हुन्छ । तर सो रकमको पारदर्शितासमेत नरहेको उहाँको भनाइ छ । काम रोक्ने उनीहरूले चेतावनी दिएका छन् । आफ्ना माग सम्बोधन नगरे कानूनी प्रक्रियामा जान आफूहरू तयार रहेको उनीहरूको भनाइ छ । सहायक खोलाको पानी मिसाउँदा सो क्षेत्रमा सुक्खा लाग्ने र खोलामा कमिला कुद्ने भएकाले पनि सो स्थिति आउन नदिन जनप्रदर्शनदेखि कानूनी उपचारसम्मको बाटो रोज्नुपर्ने दिन आएको सङ्घर्ष समितिका सचिव मानबहादुर गुरुङले बताए । समिति सदस्य हुकुमलाल थेवेले मनोवैज्ञानिक त्राससमेत देखाउने गरेकाले पनि आफूहरू आफ्ना मुद्दामा दृढताका साथ लागेको बताए । उनले हप्काउने र तर्साउने कार्य बन्द गर्नसमेत आग्रह गरे ।

सहायक खोलाको पानी समेत परियोजनामा मिसाउँदा वातावरणीय प्रभाव पर्ने र सिँचाइका लागि असुविधा हुने भएकाले अन्य खोलाको पानी परियोजनामा मिसाउन नहुने उनीहरूको भनाइ छ । पटक–पटक परियोजना सञ्चालकसँग आग्रह गरेपनि परियोजनाले कुनै सुनुवाइ नगरेको उनीहरूको भनाइ छ । परियोजनासमक्ष वातावरणीय प्रभाव मूल्याङ्कनलगायतको प्रतिवेदन माग गर्दा आलटाल गर्ने गरेको प्रभावित क्षेत्रका बासिन्दाको भनाइ छ । परियोजनाले स्थानीयवासीको सरोकारलाई बेवास्ता गर्ने र अवैधरूपमा अन्य खोलाको पानी मिसाउन खोजेपछि आन्दोलनको आवश्यक परेको सङ्घर्ष समितिको ठहर छ ।

सन्दकपुर , माइजोगमाई गाउँपालिका र इलाम नगरपालिकाका प्रभावित क्षेत्रका बासिन्दाले सङ्घर्ष समिति गठन गरेका हुन् । इलाम बजारमा पत्रकार सम्मेलन गर्दै स्थानीयासीले उठाएका माग उल्लङ्घन गरे प्रतिकारमा उत्रिने चेतावनी दिँदै आएका छन् । उनीहरूले परियोजनाले प्राकृतिक, धार्मिक सांस्कृतिक र जैविक असर गर्ने जनाएका छन् ।