थप २७४ जनामा कोरोना सङ्क्रमण,२२७ जना डिस्चार्ज

काठमाडौँ– नेपालमा थप २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा छ हजार ३०४ जनाको नमूना परीक्षण गर्दा २७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै सङ्क्रमितको सङ्ख्या १९ हजार ५४७ पुगेको छ । नेपालमा हालसम्म पीसीआर विधिबाट तीन लाख ६४ हजार ६४८ जनाको परीक्षण भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २२७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको सङ्ख्या १४ हजार २४८ पुगेको छ । उहाँका अनुसार १३ हजार १०२ जना क्वारेन्टिनमा र पाँच हजार २२७ जना आइसोलेशनमा रहेका छन् । मुलुकभर पाँच हजार २२७ सक्रिय सङ्क्रमित छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप तीन जना सङ्क्रमितको मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए ।

काठमाडौँ उपत्यकाकामा थप ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४१ तथा भक्तपुर र ललितपुरमा दुई÷दुई जना गरी ४५ जनामा सङ्क्रमण देखिएको हो ।