जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा निरन्तर वृद्धि, आइतबारसम्म ३९ हजारभन्दा बढी सङ्क्रमित

टोकियो– जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या विगत २४ घण्टामा एक हजार ३३० ले वृद्धि भएको स्वास्थ्य मन्त्रालय तथा स्थानीय प्रशासनद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा उल्लेख छ ।

जापानमा विगत पाँच दिनदेखि सङ्क्रमितको सङ्ख्या एक हजारभन्दा बढी रहँदै आएको छ । यद्यपि शुक्रबारभन्दा आइतबार सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको सरकारी अधिकारीहरूले बताएका छन् ।

जापानले सुरूमा कोभिड सङ्क्रमितको सङ्ख्या नियन्त्रण गर्न सफल भएको देखिएको भएपनि दोस्रो श्रृङ्खलामा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

जापानको सबैभन्दा बढी प्रभावित शहर राजधानी टोकियोमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या १३ हजार ४५५ पुगेको छ भने ओसाका, फुकुओका, कानागावालगायतका स्थानमा सङ्क्रमण बढिरहेको अधिकारीले जनाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा सङ्क्रमितमध्ये २६ हजार ५६५ जना निको भई घर फर्किएका छन् । त्यस्तै सङ्क्रमणको कारण गम्भीर स्वास्थ्य समस्या भएका विरामीको सङ्ख्या मात्रै ८३ रहेको बताइएको छ ।

जापान सङ्क्रमितको उपचारमा सफल देखिएको तथ्याङ्कले देखाउँछ तर पछिल्ला दिनहरूमा सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि बढी सङ्क्रमण देखिएका स्थानमा नियन्त्रणका उपायहरू स्थानीय स्तरमा नै गरिएको तर देशभर लकडाउन वा अन्य कठिन प्रतिबन्धात्मक उपायहरूको अवलम्बन नगरिएको सरकारले बताएको छ । सरकारले अति आवश्यक बाहेक नागरिकहरूलाई अनावश्यक हिँडडुल नगर्न आग्रह गरेको छ ।

५० नेपालीलाई जापानमा छात्रवृत्ति

जापानमा अध्ययनरत थप ५० नेपाली विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । इन्टरनेशनल ह्युुमन रिसोर्स नेटवर्क अर्गनाइजेसनले उक्त छात्रवृत्ति दिने भएको हो । उक्त संस्थाले विभिन्न देशका झण्डै ४८० विद्यार्थीलाई छात्रवृत्ति दिइरहेको छ । सो संस्थालाई जापानमा कौएकी जाइदान हौजिन भनिन्छ । जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको उपस्थितिमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बारेमा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

छात्रवृत्तिमा छनोट भएका विद्यार्थीले प्रत्येक महिना रु ३० हजारका दरले दुई वर्षसम्म उक्त रकम पाउने छात्रवृत्तिका लागि सहयोगी भूमिका निर्वाह गरिरहेका कोएकी जाइदान होजिनमा कार्यरत कमल बाँस्तोलाले बताउनुभयो । छात्रवृत्तिको लागि सिफारिस भने गैरआवासीय नेपाल सङ्घ ९एनआरएनए० जापानले गर्ने भएको छ । एनआरएनए जापानले आर्थिक अवस्था कमजोर रहेका र जापान आएपछि जापान सरकारले तोकेको मापदण्डमा रहेर बस्दै आए, नआएको भन्ने आधारमा छनोट गर्नेछ ।