पार्टी विभाजन हुन सक्छ मानसिक रुपमा तयार रहनुहोस् : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चलिरहेको किचलो अझै खतरनाक रुपमा अगाडी बढेको अनुमान लगाउन गाह्रो नहुने किसिमको छनक बुधबारको पत्रकार सम्मेलनले प्रष्ट्याउँछ । नेकपाका ओलीइतरका गुटलेले बुधबार आंशिक गोप्य भनिएको पत्रकार सम्मेलनको आयोजना गरेको छ भने सोहि पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य टुंग्याउँदै गर्दा पार्टी विभाजन हुने परिस्थिति बन्न सक्नेतर्फ घटनाक्रम अगाडी बढेको हुनाले मानसिक रुपमै तयार रहनुपर्ने कुरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुलेरै प्रष्ट राखेका छन् ।

बुधबार थापागाउँस्थित एक कलेजमा अनौपचारिक भनिएको सो सम्मेलनमा ओली गुट बाहेकका व्यक्तिहरुमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटीका पम्फा भुसाल र रघुजी पन्त सहभागी थिए ।

प्रचण्डले पार्टीलाई एकताबद्ध बनाई भावी कार्यदिशालाई पुरा गर्नुपर्ने ऐतिहासिक आवस्यकतालाई मनन गर्दै प्रधानमन्त्री ओली पक्षसँग वार्ता, संवाद छलफल गर्दागर्दै पनि खराब परिस्थिति आउन लागेको संकेत गर्दै जस्तोसुकै परिस्थितको लागि पनि तयार रहन आग्रह गरे । ओलीको व्यक्तिवादी चरित्र विकसित हुँदै गएको र त्यसले पार्टीलाई सुदृढ बनाउन नसक्ने भएकैले ओलीको त्यस किसिमको व्यवहारलाई रूपान्तरण गरेर पार्टी एकता सुदृढ तुल्याउन खोजेको बताउँदै प्रचण्डले अहिलेको बहसलाई केवल पद बाँडफाँड, लेनदेनका रूपमा नबुझ्न र सैद्धान्तिक मतभेद कै रुपमा बुझिदिन आग्रह गरेका थिए ।