सभापोखरीको भेटी सङ्कलन हुन सकेन

किमाथाङ्का– सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ को सभापोखरीको भेटी सङ्कलनमा सम्बन्धित निकायको ध्यान गएको छैन । धार्मिक तथा पर्यटकीय महत्व बोकेको सभापोखरीमा वर्षौंदेखि भेटी सङ्कलन हुन सकेको पाइएको छ । पोखरी दर्शन गर्ने विभिन्न जिल्लाबाट आएका भक्तजनले चढाएको भेटी सङ्कलन हुन नसकेको हो ।

भक्तजनले पोखरीमा चढाएका भेटी तथा पैसा सङ्कलन नहुँदा लाखौँ रकम त्यसै खेर गइरहेको छ । करिब २०१५ सालदेखि सभापोखरीमा पुजारीका रुपमा रहनुभएका पुजारी बाबुराम अधिकारीले तीर्थयात्री, भक्तजनले चढाएको भेटी पैसा सङ्कलन नभएको बताए।

सभापोखरीको दर्शन गर्न हरेक वर्ष तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य भक्तजन तथा पर्यटक पुग्ने गरेको उनले बताए । अहिलेसम्म तीर्थयात्री, भक्तजनले चढाएको पैसा कुनै पनि निकायले सङ्कलन गर्ने गरेका छैनन् । दैनिक आउने भक्तनजले चढाएको पैसा सङ्कलन गर्न हालसम्म कुनै पनि समिति बनेको छैन, एकपटक बनेको समितिले पनि भेटी सङ्कलन नगरी त्यसै छाडेको छ । भक्तजनले आफ्नो काम सिद्ध भएपछि चढाएका विभिन्न चाँदी तथा अन्य धातुका गरगहनासमेत पोखरीमा छाडेर जाने गरेको पुजारी अधिकारीले जानकारी दिए ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा समेत आफ्नो पहिचान बनाएको सभापोखरीको संरक्षण र प्रचारप्रसार गर्न सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको भनाइ छ । सभापोखरीमा श्रद्धालुहरु मागेका कुरा पुग्ने विश्वास गर्दछन् । सन्तान नहुनेले पूजा गरेमा सन्तान हुने विश्वासका साथ श्रद्धालु पूजा गर्न पुग्ने गरेका छन् । सभापोखरी धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको भए पनि यसको संरक्षणमा हालसम्म कसैले चासो नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन् ।

सभापोखरी सदमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्छ । पूर्वी नेपालको सङ्खुवासभास्थित सभापोखरी धार्मिक हिसाबले अत्यन्त पवित्र स्थान हो । त्यस पोखरीमा जनैपूर्णिमाका दिन सबैभन्दा धेरै भक्तजन पुग्ने गरेका छन् । किंवदन्तीअनुसार पृथ्वीमा दैत्यले गर्ने विनाश रोक्न देउताले सभापोखरीमा सभा बसी योजना बनाएका थिए । त्यस पोखरीको अर्को पनि किवंदन्ती रहिआएको छ । “वेद व्यसले सम्पूर्ण देवी देवतालाई भेला गराएर पुराण भनेका थिए ।” सङ्खुवासभामा पर्ने यो तालको लम्बाइ २०० मिटर र चौडाइ करिब १०० मिटर छ । यो समुद्र सतहदेखि चार हजार २४० सय मिटर उचाइमा छ । देउताले सभा गर्ने स्थल भएकाले यसको नाम सभापोखरी रहन गएको किंवदन्ती छ ।