राष्ट्रपति ट्रम्पले फेसबुकमा पोष्ट गरेको भिडियो फेसबुकले किन हटायो ?

सानफ्रान्सिस्को– सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाइदिएको बुधबार जनाएको छ ।

भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबीसहितको सन्देश प्रवाहित गरेका थिए ।

फेसबुकले राष्ट्रपतिको उक्त दाबीलाई “कोभिडसम्बन्धी अहितकर झुठो सूचना”को वर्गीकरणभित्र राख्दै फेसबुकबाट हटाएको जनाएको छ ।

विश्वकै अग्रणी सामाजिक सञ्जाल फेसबुकले राष्ट्रपति ट्रम्पले पोस्ट गर्नुभएको सामग्रीलाई आपत्तिजनक र गलत ठह¥याउँदै फेसबुक पेजबाट हटाएको यो पहिलो पटक हो । हुनत यसअघि राष्ट्रपति ट्रम्पको चुनावी अभियानको पेजमा प्रयोग भएको नाजी प्रतीक चिह्नलाई पनि फेसबुकले हटाएको थियो ।

फक्स न्यूजलाई दिएको अन्तरवार्ताको यो भिडियो अंशमा राष्ट्रपति ट्रम्पले कोभिड–१९ बाट एउटा समूह सुरक्षित रहेको भन्दै गलत दाबी गरिएको फेसबुकका प्रवक्ताले बताएका छन् । उनले कोभिडसम्बन्धी फेसबुकको नीति विपरीत राष्ट्रपति ट्रम्पको दाबी फेसबुकमा पोस्ट भएको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा आफ्नो भनाइको बचाउ गरेका थिए । उनले भने, “बालबच्चाले कोभिडलाई सहजै परास्त गर्न सक्छन् भन्ने मेरो धारणा हो । उनीहरुमा रोगप्रतिरोधी क्षमता बढी हुन्छ ।”

स्वास्थ्य अधिकारीले कोभिडको असर जुनसुकै उमेर समूहका व्यक्तिमा हुने जनाउँदै सतर्कता अपनाउन निरन्तर आग्रह गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले गत साता पनि कोभिड–१९ सम्बन्धी गलत सूचना प्रवाह गर्नुभएको थियो ।