कोरोना सङ्क्रमितलाई राख्न समस्या

सुरुङ्गा– प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्न समस्या देखिएको छ । झापाका तीन वटा स्थानीय तहमा आज एकैदिन पाँच जनालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरुलाई राख्न समस्या देखिएको हो ।

प्रदेश नं १ मा कोरोना सङ्क्रमितलाई राख्नका लागि बनाइएका आइसोलेशन वार्ड सबै भरिएपछि झापामा कोरोना सङ्क्रमण पुष्टि भएकालाई कहाँ पठाउने भन्ने विषयमा अन्योल भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका स्थानीय स्रोत व्यक्ति जीवन चम्लगाईंले बताए ।

आज मात्रै एक जना सशस्त्र प्रहरीसहित झापामा पाँच जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाथीभरा सशस्त्र प्रहरी गण पाडाजुंगीका एक सशस्त्र प्रहरीसहित बाह्रदशी र अर्जुनधारा नगरपालिकामा कोरोना सङ्क्रमित भेटिएका हुन् । पाथीभर सशस्त्र प्रहरी गण कमल गाउँपालिकामा रहेको छ ।

उता बाह्रदशी गाउँपालिका–६ की एक महिला र सोही गाउँपालिका–१ का एक पुरुषमा सङ्क्रमण देखिएको छ । ती महिला भारतको सिलिगुडी र पुरुष पञ्जाबबाट फर्केर पशुपति मावि राजगढको क्वारेन्टिनमा बसेका थिए ।

अर्जुनधारा नगरपालिकाका दुई जना पुरुषमा सङ्क्रमण देखिएको छ । उनीहरु भारतबाट आएर स्थानीय क्वारेन्टिनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय झापाका स्थानीय स्रोत व्यक्ति चौलागाईले बताए । झापामा ३९८ जनालाई कोरोना सङ्क्रमण भएको छ भने ३४४ जनाले कोरोना जितेर घर फर्किएका छन् ।