साहित्यकार ज्ञवालीको ‘बुद्धिको पाइला’ सार्वजनिक

काठमाडौँ– साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको छन्द कविता सङ्ग्रह ‘बुद्धिको पाइला’ सार्वजनिक गरिएको छ । ज्ञवालीको यो १८औँ कृति हो ।

यसअघि उनीका ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला’, ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’, ‘समालोचना पुष्प’, ‘भूमिकाको भूमिका’लगायत कृति प्रकाशित भइसकेका छन् ।

भर्चुअल माध्यमबाट हरेक पल डट कमले आयोजना गरेको कार्यक्रममा लेखक ज्ञवाली, साहित्यकार डा शैलेन्दुप्रकाश नेपाल, कवि ऋषभदेव घिमिरे, कवयित्री रञ्जना निरौलाले संयुक्तरूपमा कृति लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा कृतिमाथि समीक्षा गर्नुहुँदै साहित्यकार नेपालले राष्ट्रप्रेमको भाव बोकेकोे शास्त्रीय छन्दमा रचित कृतिले छन्द कविता परम्परालाई संरक्षणमा योगदान गर्ने बताए । सो अवसरमा कृतिका बारेमा कवि एवं कवयित्री घिमिरे, निरौला, लेखक ज्ञवालीलगायतले आ आफ्ना भनाई राख्नुहुँदै नयाँ पुस्तालाई छन्दमा कविता लेख्न यस्ता पुस्तकले प्रेरित गर्ने विचार राखे ।

उपजाति, शार्दुलविक्रीडित नौ वटा छन्दमा लेखिएको कृतिमा ८० पृष्ठ छ । सविता भट्टराईले प्रकाशन गर्नुभएको कृति नेपाली नागरिकले पढ्न चाहेमा निःशुल्क उपलब्ध गराइने छ । विदेशी नागरिकलाई भने ११ डलर मूल्य तोकिएको छ ।

यसअघि ज्ञवालीले विभिन्न विधाका दर्जनौं कृतिको सम्पादन र भूमिका लेखनसमेत गरिसकेका छन् । विधागतरूपमा समालोचनाका चार, निबन्ध एक, बाल साहित्य एक दर्जन, भाषणकलाको एक, भूमिकाको भूमिका एकलगायत कृति सार्वजनिक भइसकेका छन् ।