काठमाडौं उपत्यकामा १३४ जनासहित आज देशैभर ६३८ जना कोरोना संक्रमित थपिए, २ जनाको मृत्यु

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो । यो संख्या संगै नेपालमा विगत २४ घण्टामा संक्रमितको संख्या ६३८ जना पुगेको छ ।

काठमाडौं उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । यससँगै कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ । उनीहरुमध्ये ८३ जनाको मृत्यु भएको छ भने १६ हजार ६६४ निको भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १७१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट धनुषा र सिन्धुपाल्चोकका एक/एक जनाको मृत्यु भएको छ ।

प्रादेशिक अस्पताल, जनकपुरधाममा उपचाररत विदेह नगरपालिका–८ का ६० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो । क्षयरोग र निमोनियाका बिरामी रहेका उनको पछिल्लो १८ दिनदेपख आईसीयूमा उपचार भइरहेको थियो ।

यस्तै साउन २२ गते मृत्यु भएका सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–४ का ८४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा मृत्यु भएको थियो ।