बेलायतको अर्थतन्त्र २० प्रतिशतले खुम्चियो

लन्डन– कोरोनाभाइरस नियन्त्रणका लागि लकडाउन गरिएका कारण बेलायतको अर्थतन्त्र दोस्रो चौमासिक अवधिमा २०.४ प्रतिशतले खुम्चिएको छ ।

बेलायतको अर्थतन्त्र यतिठूलास्तरमा खुम्चिएको यो वर्षौंपछि पहिलो पटक हो ।

राष्ट्रिय तथ्याँक कार्यालयले यस वर्षको पहिलो तीन महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनमा महिनैपिच्छे २.२ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको जनाएको छ । यस्तो परिस्थितिमा बेलायतको अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको देखाएको छ ।

युरोपका अरु मुलुक खासगरी जर्मनी र फ्रान्स वा संयुक्तराज्य अमेरिकाको तुलनामा बेलायतको अथतन्त्र बढी नै संकुचित भएको छ ।

तथ्याङ्क कार्यालयले लकडाउनमा सहजीकरण गर्न थालेयता जुन महिनामा अर्थतन्त्रमा निकै सुधार आएको बताएको छ । कार्यालयका अनुसार जुन महिनामा बेलायती अर्थतन्त्र ८.७ प्रतिशतले वृद्धि भएको छ ।

तथ्याङ्कशास्त्री जोनाथन अथोले जुनमा बेलायतका पसल खुलेका, कारखानामा उत्पादन हुनथालेको तथा घर निर्माणका कार्य पुनःशुरु भएको बताए ।

बेलायत सरकारले हाल बन्द अवस्थामा रहेका पब, रेष्टुराँ खोल्न थालिए अर्थतन्त्रमा व्यापक सुधार आउने जनाएको छ । बेलायती अर्थमन्त्री रिशी सुनाकले कोरोनाभाइरसको प्रभाव अझै देखिएकाले कठिन समय अझै बाँकी रहेको बताउँदै अहिल्यै दशौं हजारले रोजगारी गुमाएका र आगामी महिनामा त्यो संख्या अझ बढ्न सक्ने जानकारी दिए ।

जहाँसम्म, बेलायत सरकारले मजदुरको ज्याला भुक्तानीमा कम्पनीहरुलाई आर्थिक सहायता गरिरहेकाले पनि अर्थतन्त्रलाई पुनर्जीवन दिन सहज हुने बेलायती अर्थविज्ञहरुको ठम्याई छ ।

सरकारले झण्डै १२ लाख रोजगारदाताले कामबाट विदा दिएका झण्डै ९६ लाख मजदुरलाई तलबी आर्थिक सहायता दिइरहेको छ, र यो सहायता अंक करिब ४४ अर्ब डलर छ ।