क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

चितवन । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी गराए ।
अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पतालसमेत निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उनले जानकारी गराए ।

अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवा सम्बन्धित विभागको ओपिडिबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ । क्यान्सर अस्पतालमा कार्यरत सात नर्स र तीन सहयोगीलाई कोरोना पोजेटिभ देखिएको छ भने अस्पतालमा उचार गराएका सात बिरामी सङ्क्रमित भेटिएका छन् ।

“बिरामीलाई कोभिड–१९ पुष्टि हुँदा हामीले निरन्तर सेवा प्रवाह गरिरहेका थियौँ”, निर्देशक गौतमले बताए , “उपचारमा संलग्न नर्स नै सङ्क्रमित भएपछि सेवा बन्द गर्न बाध्य भएका हौँ ।” उनले दुई÷तीन दिनभित्र सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ परीक्षण गरेर सेवा पुन सञ्चालनसम्बन्धी निर्णय लिइने बताए ।